लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्वतको बाँसखर्कवाट चार करोडको सुन्तला बिक्री - News site from Nepal
पर्वतको बाँसखर्कवाट चार करोडको सुन्तला बिक्री

पर्वत । जलजला गाउँपालिका–१ बाँसखर्ककी कल्पना खत्रीले गत शुक्रबार सात खेताला लगाएर दिनभर सुन्तला टिपिन् । डेढ रोपनीमा फलेको सुन्तला पोखराका व्यापारीलाई साढे ३ लाख रुपैयाँमा घरबाटै बेचिन् । शुक्रबारै नन्दबहादुर खत्रीले पनि डेढ रोपनीमै लगाइएको सुन्तलाको ४ लाख रुपैयाँ बुझे ।

बाँसखर्कमा सुन्तला बेच्ने यी दुई किसान मात्र होइन, पुस्तौंदेखि सुन्तला खेती गर्दै आएका अन्य किसानले पनि वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । चालु वर्ष मात्रै सबै यहाँका किसानले करिब ४ करोड रुपैयाँको सुन्तला फलाए । अन्यत्रको तुलनामा ढिलासम्म बोटमै रहने र स्वादमा पनि अब्बल रहेकाले यहाँको सुन्तला बोटबाटै प्रतिकिलो १०५ देखि १२० रुपैयाँसम्ममा बिक्री हुने गरेको किसान बताउँछन् ।

विगतको तुलनामा सुन्तलाको क्षेत्रफल विस्तार भएको छ । त्यसैले यस वर्ष यहाँबाट करिब ४ करोड रुपैयाँको सुन्तला बिक्री हुने किसानको अपेक्षा रहेको किसान जगतबहादुर खत्रीले बताए । ‘अहिले रोगकिरा केही लागेनन् । एउटै बोटमा सय किलोसम्म दाना फलेको छ,’ उनले भने ।

वडाका २६१ मध्ये २ सयभन्दा बढी घरले व्यावसायिक रूपमै सुन्तला लगाएका छन् । बोटभरि लटरम्म पाकेका सुन्तलाले मंसिरदेखि फागुनसम्म गाउँ पहेंलै देखिन्छ । गाउँ छाडेका पनि सुन्तलाको आम्दानी सम्झिएर अहिले फर्किन थालेका छन् । ‘मैले तीन रोपनीका सुन्तला १० लाखमा ठेक्का दिएँ,’ जगतबहादुर खत्रीले भने, ‘अहिलेजस्तो कहिल्यै फलेको थिएन ।’

सुन्तलाको आम्दानीले बेनी, बागलुङ, कुस्मा, पोखरा, चितवन, काठमाडौंलगायत सहरमा घरघडेरी जोडेका परिवार यहाँ धेरै छन् । तर, कोही पनि सहर बजारका घरमा बस्दैनन् । ‘थोरैमा २ लाख नकमाउने कोही छैनन्,’ किसान ख्यामबहादुर खत्रीले भने, ‘आधाभन्दा बढीले सहरमा घरजग्गा जोडेका छन् ।’

सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा सुन्तला उत्पादन तथा बिक्री गर्न बजारमा सुन्तला उत्पादन सहकारी सञ्चालनमा छ । सबैजसो किसानका सुन्तलाको बजारीकरण यही सहकारीले गर्छ । ‘सुन्तलाका लागि यो जत्तिको ठाउँ मैले कतै देखिनँ,’ गण्डकीका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युतप्रसाद ढकालले भने, ‘यहाँ त साँच्चिकै सुन फल्दो रहेछ ।’ सुन्तलाका लागि उपयुक्त क्षेत्र भएकाले बाँसखर्कमा बर्सेनि क्षेत्रफल विस्तार गरी सुन्तला जोन बनाउन लागिएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले बताए ।कान्तिपुर दैनिकमा अगन्धर तिवारीले समाचार लेखेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!