पोखरा – नेपाल पर्यटन बर्ष २०२० को गण्डकी प्रदेशमा भव्यताका साथ उद्घाटन गरिएको छ । प्रदेशको राजधानी पोखरामा बुधबार नेपाल भ्रमण वर्षको सुरुआत गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल पर्यटन बर्ष सफल बनाउन गण्डकी प्रदेशको भुमीका महत्वपूर्ण हुने बताउनुभयो ।
गण्डकी प्रदेश पर्यटकीय हिसाबले महत्वपुर्ण रहेको चर्चा गर्दै नेपाल सरकारले लिएको २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न गण्डकी प्रदेश ले आधा भन्दा बढी योगदान गर्ने बताउनुभयो ।
सन् २०२० मा नेपाल सरकारले २० लाख पर्यटक ल्याउने अवधारणा बनाइरहँदा गण्डकी प्रदेश सरकारले सन् २०२२ मा २० लाख पर्यटक प्रदेशमा भित्राउने लक्ष्य राखेको बताउनुभयो । यसका लागि गण्डकी प्रदेशले आधार तयार गरीरहेको बताउदै मुख्यमन्त्री गुरुङले लुकेका पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार र पर्वद्धनमा प्रदेश सरकार लागि परेको बताउनुभयो । देउताले बास गरेको पवित्र प्रदेशका रुपमा गण्डकी प्रदेश भएको बताउँदै भगवानले रुचाएको प्रदेशलाई पर्यटकले रुचाउनेमा आफु विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो । गैंडा पाइने नवलपुर देखि जिल्ला देखि नेपालको एउटै मात्रै शिकार आरक्षण ढोरपाटन शिकार आरक्षण,८ हजार माथी उचाईका हिमालहरु गण्डकी प्रदेशकै एउटा अंगको रुपमा भएको उनले उल्लेख गर्नुभयो ।
सरकारबाट भ्रमण वर्ष २०२० घोषणा हुनुअघि नै गण्डकीले छिमेकी देश भ्रमण वर्ष कार्यक्रम घोषणा गरेको बताउदै नेपालमा आउनेमध्ये ४० प्रतिशत पर्यटक गण्डकी प्रदेशमा आउँछने गरेको दाबी गर्नुभयो ।
उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेश प्राकृति,सांस्कृति र साहासिक पर्यटनका लागि नेपालकै उत्कृष्ट र महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । मन्त्री लम्सालले गण्डकी प्रदेशमा भएका ८५ वटा स्थानिय तह, पर्यटन व्यवसायी र नागरिकको सहयोगलेनै भ्रमण वर्ष सफल हुने भन्दै सहयोगको अपिल गर्नुभयो । मन्त्री लम्सालले गण्डकी प्रदेश भित्रका ११० पर्यटकीय गन्तव्यहरु घोषणा गरिसकेको र ति पर्यटकिय स्थलहरुको पूर्वाधार व्यवस्थापनमा प्रदेश सरकार लागि परेको बताउनुभयो ।
भ्रमण वर्षको सुरुआतका लागि प्रदेशले फेवाताल किनारमा आयोजना गरेको कार्यक्रममा ११ वटै जिल्लाका विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । प्रदेश सरकारले आफ्नो प्रदेशको पर्यटन प्रवद्र्धनका लागि हिमाल आरोही निर्मल पुर्जा र गायक प्रकाश सपूतलाई सद्भावना दूतसमेत घोषणा गरेको छ ।
गण्डकी प्रदेशले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष,२०२० लाई छिमेकी दे्श पर्यटन भ्रमण बर्ष २०२१ लाई पूर्वाधार पर्यटन बर्ष र २०२२ लाई अन्तर्रा्ष्ट्रिय पर्यटन वर्ष मनाउने योजना बनाएको छ । प्रदेश सरकारले पोखरा विमानस्थलमा पर्यटकको स्वागत समेत गरेको थियो ।