दश लाखको प्रलोभनमा बेपत्ता भएका पर्वतको पकुवाका दुई बालक पोखरामा भेटिए - News site from Nepal

 

 पर्वत : कोही मान्छेले फोन गरेर आफूहरूलाई चिट्ठामा १० लाख रुपैयाँ परेको बताएपछि सोही पैसाको खोजीमा बेपत्ता भएका पर्वतका दुई बालकहरूलाई प्रहरीले उद्धार गरेको छ।
जिल्लाको कुस्मा नगरपालिका ११ पकुवाका ४९ वर्षीय बिलबहादुर दमाईको छोरा राजन परियार र भाइ नाता पर्ने  प्रेम परियारलाई कास्कीको पोखरास्थित वैदामबाट उद्धार गरिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक विकास थापाका अनुसार दुई जना बालकहरू गत मङ्सिर २७ गतेबाट बेपत्ता भएपछि परिवारले दिएको उजुरीको आधारमा अनुसन्धान सुरु भएको थियो।
यसरी पत्ता लाग्यो बेपत्ता र ठगी धन्दा
बेपत्ता भएका राजन र प्रेमले कोही व्यक्तिको बैंक खातामा पच्चिस हजार रुपैयाँ जम्मा गरेको भेटिएपछि प्रहरीले उनीहरू आर्थिक मामलाका विषयमा बेपत्ता भएको हुन सक्ने भन्दै अनुसन्धान अगाडि बढायो। उक्त रकम सिराहा जिल्लाको मिर्चैया नगरपालिका-७ घर भएका चन्द्रभुषण साहको खातामा जम्मा भएको प्रहरीले पत्ता लगायो।
प्रहरीले तत्काल नै साहलाई जिल्ला प्रहरी कार्यालय पर्वतमा झिकाएर सोधपुछ गरेपछि उनको खाता र एटिएम कार्ड सिराहाकै राजपुरस्थित रजोखर बस्ने फूलकुमार यादवले झुक्याएर प्रयोग गरिरहेको थाहा भयो। साहको खातामाथि घोटाला गरिरहेका यादवले नै बेपत्ता भएका राजन र प्रेमलाई फोन गरेर उनीहरूको नाममा १० लाखको चिट्ठा परेको र त्यो रकम पाउनका लागि सुरुमा खातामा पच्चिस हजार रुपैयाँ जम्मा गर्दिनुपर्ने सर्त राखेको प्रहरी अनुसन्धानबाट खुल्यो।
फूलकुमारको भनाइमा विश्वास गरेर पैसा पठाएको थाहा पाएको प्रहरीले सम्पर्कविहीन रहेका दुवैको खोजीलाई तीव्र पारेको थियो। सोही क्रममा उनीहरूको हुलिया र सुराकीको आधारमा उनीहरूलाई पोखराबाट उद्धार गरिएको प्रहरी निरीक्षक थापाको भनाई छ।
प्रहरीले उद्धार गरिएका दुवै जना बालकहरूलाई परिवारको जिम्मा लगाएको छ भने चन्द्र भूषण साहका आफन्तले फिर्ता पठाई दिएको पच्चिस हजार रुपैयाँ बिहीबार बालकहरूका अभिभावक बिलबहादुर दमाईलाई बुझाइएको छ। ठगी धन्दामा संलग्न रहेका फूलकुमार यादव भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!