नववर्ष २०२० सबैका निम्ति आरोग्यको वर्ष बनोस् : प्रम - News site from Nepal
नववर्ष २०२० सबैका निम्ति आरोग्यको वर्ष बनोस् : प्रम

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि शुरु भएको नयाँ वर्ष सन् २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

नववर्षका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले हामीबाट भर्खरै बिदा भएको २०१९ नेपालको सुस्थिर राजनीतिक उपलब्धिको वर्षका रुपमा रहेको, यसै वर्ष हामीले अन्तरराष्ट्रिय जगत्मा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सकेको तथा दूरगामी महत्वको ऐतिहासिक नेपाल भ्रमणमा मित्रराष्ट्रका पाहुनालाई सत्कार गरेको स्मरण गरेका छन्। “यही समयमा हामीले पृथकतावादी प्रवृत्तिलाई सधैंँका लागि अन्त्य ग¥यौंँ । विकासका केही दूरगामी योजना यसै वर्ष थालनी ग¥यौंँ भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजना सम्पन्न ग¥यौं । चार वर्षअघिको भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुनःनिर्माण सम्पन्नताउन्मुख छ,” सन्देशमा उनले उल्लेख गरेका छन् ।

अव्यवस्था र अनिश्चयबाट लामो समय गुज्रेको मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा चुनौती रहेको तथा देशले त्यस्ता अवरोधलाई भोगे पनि हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तव्यतर्फ थप गतिशील बनाएको बताउँदै प्रधानमन्त्रीले राष्ट्रिय समृद्धितर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । अर्को नयाँ वर्षको सँघारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग देखिने गरी उचाइमा उठ्ने तथा जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने बताउँदै उनले निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै आफूले पटकपटक गरेको सङ्कल्प ‘जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने सरकारको यस अभियान’मा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहने आशा प्रकट गरेका छन् ।

नयाँ वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा समेत मनाउँदै लाखौं पर्यटकलाई नेपालमा स्वागत गरिने बताउँदै प्रधानमन्त्री ओलीले सन् २०२० स्वदेश र विदेशमा रहेका समस्त दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस् भन्ने कामना गरेका छन् । उनले ग्रेगोरियन क्यालेण्डर र इस्वी संवतको पात्रो अनुसार प्रत्येक वर्ष जनवरी १ तारिखलाई संसारका अधिकांश देशमा नयाँ वर्षका रुपमा मनाइने गरेको तथा वैशाख १ लाई नयाँ वर्षका रुपमा मनाउने हाम्रो मौलिक परम्परा भए पनि अन्तरराष्ट्रिय प्रचलनमा रहेको इस्वी संवत्लाई हामीले पनि अङ्ग्रेजी नयाँ वर्षका रुपमा मनाएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!