
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना माहतका व्यक्तिलाई लाई स्वच्छ,पारदर्शी र गतिशिल बनाउन गरेका छन्। आर्थिक वर्ष २०७६/०७७ को वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यन्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो आह्वान गरेका हुन्।
‘भ्रष्टाचार अन्त्य गर्न र सदाचारितालाई अवलम्बन गर्नका लागि सूत्र नै बनाऊँ। मातहतको नजरमा नगिरौं’, उनले भने, ‘मातहतको नजरबाट गिर्नबाट जोगियो भने मान्छेले राम्रो काम गर्न सक्छ ।’ ओलीले कार्यतालिका बनाएर काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिए। ओलीले राजनीतिक अस्थिरताका कारण काम गर्ने वातारवरण भएन भन्ने छुट कसैलाई पनि नभएको बताए। उनले देशमा विकासको सम्भावना धेरै हुँदाहुँदै पनि गरिब र पिछडिएको भनेर बस्नु परिरहेको भन्दै अब तीव्रताका साथ काम गर्नुपर्ने बताए।
‘हामीलाई जनताले दुईतिहाइ बहुमत दिएर पठाएका छन्’, उनले भने, ‘स्थायी सरकार बनेको छ, ढुक्कले काम गर्न पाउने अवस्था छ। तपाईंहरुले अलमल नगरी काम गर्नुस्।’ प्रधानमन्त्री ओलीले मन्त्री र सचिबहरुलाई कामलाई तीव्रता दिन र जेठ १५ मा बजेट ल्याउनुको उद्धेश्य आत्मसाथ गर्न पनि आग्रह गरेका छन्।
‘हामीले जेठ १५ मा बजेट ल्याएर असारभित्र पारित गर्ने परिपाटी साउनको सुरुबाट काम गर्न सकिन्छ भन्ने सोचले सुरु गरेका हौँ’, उनले भने, ‘तर पहिले जस्तो फागुनतिर बल्ल ठेक्का सदर हुने गर्यो भने फेरि ठेक्का लाग्दा नलाग्दा पानी पर्ने बेला हुन्छ। अब त्यस्तो हुनु हुँदैन। समय खेर फाल्नु भएन ।’ प्रधानमन्त्री ओलीले आफू र मन्त्रीहरुबीच कार्ययोजना सम्झौता भएकाले अब कामले तीव्रता लिने विस्वास व्यक्त गरे। ‘मेरो र मन्त्रीजीहरुको बीचमा सम्झौतामा हस्ताक्षर भएको छ’, उनले भने, ‘अब मन्त्रीजी र सचिबहरुबीचको सम्झौता भएर कामको गतिले तिव्रता लिने विस्वास लिएको छु।’ प्रधानमन्त्री ओलीले सरकार भ्रष्टचारीविरुद्ध अभूतपूर्व ढंगले अघि बढेको बताए। ‘भ्रष्टाचारीहरुलाई मुद्दा चलाइएको छ’, उनले भने, ‘कारबाही दृढताका साथ अघि बढाइएको छ।’
कतिपय बेला संसदमा प्रतिपक्षीहरुले अनावश्यक बाधा गर्ने गरेको प्रसंग प्रधानमन्त्री ओलीले निकाले। ‘हामीलाई रोक्ने र असफल बनाउने कुरा मञ्जुर छैन,लोकतन्त्रको रक्षा गर्ने र समुचित ढंगले अघि बढाउने कुरामा वर्तमान सरकार हामी दृढ छ’, उनले भने।
प्रधानमन्त्री ओलीले जनताले स्थिरताका लागि बहुमत दिएकोले वर्तमान सरकार जनताप्रति उतरदायित्व भएर काम गर्ने बताए। प्रधानमन्त्रीसँगको सम्झौताअनुसार अब मन्त्रीहरुले कार्यतालिकाभित्रका मन्त्रालयगत काम गर्नुपर्नेछ। अघिल्लो आर्थिक वर्षमा मन्त्रालयहरुले घोषणा गरे बमोजिम काम गर्न नसकेपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई यो पटक लिखित सम्झौतामा नै गर्न लगाएका हुन्।