
पर्वत ः एकपछि अर्को गर्दै नागरिक मैत्री बन्दै गएको जिल्ला प्रशासन फेरि महिलामैत्री काम गरेर प्रसंसनिय बनेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतले महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपान कक्षको व्यवस्था गरेको छ ।
पछिल्लो समय लैङ्गिक विषयका मुद्धाहरु महत्वका साथ उठिरहेको बेला जिल्ला प्रशासनले पनि त्यसतर्फ काम गर्न थालेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सेवा प्रवाहलाई महिला मैत्री बनाउनका लागि यस्तो व्यवस्था गरिएको हो ।
पछिल्लो समय कार्यालयमा सेवा लिन आउने महिलाहरुको संख्या बढ्दै जाने र कार्यालयभित्र काम हुँदाहुँदै केहि समय कुर्नुपर्ने अवस्थामा सहज रुपमा आफ्ना बालबालिकाको हेरचाह गर्न सकुन र सुरक्षित स्थानमा स्तनपान गराउन सकुन भन्ने उद्धेश्यले स्तनपान कक्ष संचालनमा ल्याईएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–‘कार्यालयमा काम लिएर आउने कतिपय महिलासँगै स्तनपान गर्ने बच्चा समेत आउँछन्, सार्वजनिक स्थानमा लाजका कारण उनीहरुले दुध नखुवाउने गरेका कारण, बच्चाहरु समस्यामा पर्ने, रुने कराउने हुन्छ त्यसैले स्तनपान कक्ष बनाएका हौ ।’
‘समय समयमा आमाको स्तनपान गर्न पाउनु बच्चाको अधिकार हो । बच्चाको त्यो अधिकार सुनिश्चित गर्न र आमाले सहज तरिकाले स्तनपान गराउन भनेर कक्षको व्यवस्था गरिएको हो,’ उहाँले भन्नुभयो ।
गण्डकी प्रदेश सरकार अन्तर्गत शहरी विकास तथा भवन डिभीजन कार्यालयको झण्डै रु ९ लाख रुपैयाको लागतमा भवन निर्माण गरी स्तनपान कक्ष बनाईएको हो ।
कार्यालयले ज्येष्ठ नागरिक, फरक क्षमता भएकाहरुका लागि समेत विशेष व्यवस्था गरेको छ, जसले गर्दा उनीहरुको काम छिटै सम्पन्न हुन थालेको छ । प्रशासनका काम सहज गराउन कार्यालयले श्रव्यदृश्य नागरिक वडापत्र समेत राख्ने तयारी गरेको छ ।
केहि समय अघि जिल्ला प्रशासन कार्यालयमै स्वास्थ्य परिक्षण सुविधा समेत शुरुवात गरिएको छ । जसले गर्दा जुनसुकै समस्याका सेवा ग्राहिले पनि प्रशासनमा आएर सेवा लिन सक्ने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।
झण्डै एक वर्षअघि सरुवा भएर आउनुभएका प्रजिअ ढकालले बिचौलियाको पुर्ण रुपमा अन्त्य गर्ने, सेवाग्राहिलाई सेवा लिनका लागि निवेदन दिनु नपर्ने व्यवस्था गरेपछि जिल्लाबासीहरुलाई सहज भएको छ । कार्यालयका नायब सुब्बा नारायण पौडेलका अनुसार एक वर्षदेखि कार्यालयमा भनसुन गर्ने प्रचलन पुर्ण रुपमा अन्त्य भएको छ ।