काठमाडौँ, । प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डाक्टर गोविन्द केसीको आन्दोलनप्रति कटाक्ष गरेका छन् । साथै सामायोजनका विषयमा कर्मचारीहरुले गरेको आन्दोलनप्रति पनि कटाक्ष गरेका छन् ।
बुधबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला घोषणा कार्यक्रममा उनले विश्वका अरु देशमा मजदुर र श्रमिकहरुले हड्ताल गर्ने गरेको भएपनि नेपालमा जागिरवाला र डाक्टरले गर्ने गरेको टिप्पणी गरेका हुन् ।
‘अनौठो दृष्टात छ, दुनियाँमा व्यवसायी, रोजगारदाता र मजदुरहरुका बीचमा लडाईँ हुन्छ । हड्ताल हुन्छ, यहाँ हड्ताल जागिरदारहरुले गर्ने कुरा हो, मजदुर गर्दैनन्, किनकी मजदुरहरुका समस्या गरिया छ । यहाँ हड्ताल डाक्टरहरुले गर्ने कुरा हो, बिमारीको उपचार गर्दैन डाक्टर, हड्ताल गर्छ । मजदुरहरुले गर्दैनन्’, ओलीले भने । ओलीले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर मजदुरहरुको समस्या हल गरिएको स्पष्ट पारे ।
साथै प्रधानमन्त्री ओलीले अब नेपाल बद्लिने बताएका छन् । देशमा गरिबी र चिसोले कोही पनि जनता नमर्ने उनको ठोकुवा छ । सरकारको सजगताले यो पटक शितलहरले कुनै पनि नागरिकको ज्यान नगएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले दाउरा, कम्बल सबै तयारी अवस्था राखिएको र आवश्यक परेको ठाउँ प्रदान गरिएको बताए ।
प्रधानमन्त्री ओलीले सरकारले लोकतन्त्र मान्दैन कि भनेर शंका नगर्न पनि आह्वान गरेका छन् । सरकारले लोकतन्त्रको पूर्ण पालना गरेको बताउँदै उनले लोकतन्त्रलाई खिइन नदिने प्रष्ट पारे । आफूले भ्रष्टाचारीहरुलाई ठेगान लगाउने समेत काम गरिरहेको ओलीले दाबी गरे । भ्रष्टारी कुन पार्टीको हो, कुन क्षेत्रको हो भनेर अनुहार नहेरी कडा कारवाही गरिने ओलीले बताए ।
‘मैले पहिले पनि भनेको थिएँ म भ्रष्टार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न, भ्रष्टाचार सहन्न’, उनले भने, ‘अहिले भ्रष्टाचारीविरुद्ध कारवाही चलिरहेको छ, भ्रष्टाविरुद्धको कडा कदम र कडा कारवाही अझै चल्छ ।’
उनले सबै एकतावद्ध भएर देश बनाउन सकिने पनि बताए । काँग्रेसका दुई पूर्व सभापतिको नाममा सञ्चालन हुने अस्पतालको विषयमा आफूले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेको बताउँदै ओलीले यही विषयलाई लिएर सदन अबरुद्ध गरेको देखेर छक्क परेको बताए ।
विकासका लागि धुर्मुस–सुन्तली मात्र नभएर सबै आ–आफ्नो ठाउँबाट जुटन ओलीले आह्वान गरे । विकास पैसाले नभई विचार, संकल्प र योजनाले बन्ने भन्दै ओलीले भने, ‘ हामी देश बनाउन सक्छौँ, छिट्टै बनाउन सक्छौँ । सबै एकतावद्ध भएर अघि बढौँ ।’