पर्वत– सुत्केरी अवस्थामा मुख बार्ने चलनले बालबालिकाहरु कडा खालको कुपोषणबाट ग्रसित बनिरहेका छन् । पोषण सम्बन्धी ज्ञानको अभावमा बालबालिकाहरु कुपोषित भइरहेका हुन् ।
बच्चाको पोषण आमाको दूधबाट शुरु हुने हुने हुँदा परम्परागत मान्यताका कारण सुत्केरी अवस्थामा पोषणयुक्त खानेकुरा खानुको साटो मुख बार्ने चलनले बालबालिकामा कुपोषण बढेको देखिएको छ । यस्तै समस्याहरुलाई ध्यानमा राख्दै जिल्ला अस्पताल पर्बतको आयोजनामा कुश्मा नगरपालिका वार्ड नं. १३, खौला लाकुरीमा आईतबार पोषण शिविर सञ्चालन गरिएको छ । सो शिबिरमा ५ वर्ष मुनिका बच्चाहरुको अवस्था पहिचान गरिएको छ ।
जसमा कुल ९१ बच्चाको पोषणको अवस्था परिक्षण गर्दा ९ जना बच्चालाई तत्कालै पोषण गृहमा राख्नु पर्ने भेटिएको जिल्ला अस्पताल पर्बतका प्रमुख डाक्टर शिशिर देबकोटाले बताए । पोषण स्वास्थ्य शिबिरमा बालबालिकाको तौल तथा उचाइ अनुगमन गर्नुका साथै पोषण स्वास्थ्य शिक्षा समेत दिइएको थियो । पोषणको आवश्यकता तथा महत्व, कुपोषण, कुपोषणका कारण लक्षण तथा रोकथाम, स्थानिय स्तरमा पाइने खाना र यसको पोषण महत्वका बिषयमा समेत जानकारी गराइएको देबकोटाले जानकारी दिए ।
सो अबसरमा बोल्दै अस्पताल बिकास समितिका अध्यक्ष गोबिन्द पहाडीले अहिलेका बालबालिका भोलीका कर्णाधार रहेको भन्दै बालबालिका माथी खेलवाड नगर्न अभिभावकलाई सुझाए । उनले अहिले बालबालिका माथी गरेको लगानि खेर नजाने हुदाँ बालबालिकालाई कुनै पनि कुरामा कम्प्रमाईज नगर्न आग्रह गरे ।
९१ जना बच्चाहरुलाई चेकजाचँ गर्दा ९ जना बच्चालाई तत्कालै पोषण गृहमा राख्नु पर्ने अबस्था आएको भन्दै आउँदा दिनहरुमा बच्चाको स्याहार सम्भारमा अलि बढी ख्याल गर्न परिबारलाई सुझाब दिए । वार्ड नं. १३ का वडा अध्यक्ष जंग बहादुर केसीले जिल्ला अस्पतालले वडामा आएर समयमै बच्चाहरुको चेकजाच गरी कुपोषित हुन बाट सजग गराएकोमा धन्यवाद दिएका थिए । सो शिबिरमा जिल्ला अस्पताल पर्बतका प्रमुख डाक्टर शिशिर देबकोटा र मेडिकल अधिकृत सुशिल शर्माले बच्चाहरुको चेकजाचँ गरेका थिए ।
सो शिबिरमा भेटिएका तत्कालै पोषण गृहमा राख्नुपर्ने ९ जना बच्चाहरुलाई पर्वत अस्पतालमा निशुल्क पोषण गृहमा ल्याउन अस्पताले आग्रह गरेको छ । कुपोषित बच्चालाई अस्पताल ल्याउदा र फर्किदा लाग्ने यातायात खर्च अस्पतालले दिने बताईएको छ । शिबिरमा निशुल्क औषधी उपचार पाउनुका साथै कुपोषित बालबालिकालाई पोषण पुनस्र्थापना गृहमा थप उपचार तथा स्वास्थ्य सुधार निशुल्क हुने कुराले अभिभावक समेत खुशी भएका थिए ।