प्रमुख समाचार

कुश्मामा गठित इश्वरीय ममतामयी परोपकारी संस्थाद्धारा तीजको अवसरमा बृद्धालाई सम्मान

By लोकतन्त्र अनलाईन

August 30, 2019

पर्वत– हरितालिका तीजको अवसरमा कुश्मामा गठित इश्वरीय ममतामयी परोपकारी संस्थाले बृद्धाहरुलाई सम्मान गरेको छ । संस्थाले विहिबार एक कार्यक्रमको आयोजना गरी जेष्ठनागरिक सम्मान कार्यक्रम अन्तर्गत २७ जना बृद्धबृद्धालाई सम्मानित गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुश्मा नगरपालिकाकी उप प्रमुख सिता काफ्ले लामिछानेले महिलाहरुले तीजमा रमाइलो गरेर खर्च गर्ने रकमबाट बृद्धाहरुलाई गरेको सम्मान अन्य महिलाहरुका लागि पनि उदाहरणीय रहेको बताइन् । कार्यक्रममा बोल्दै लामिछानेले महिलाहरु सामाजिक सेवाका क्षेत्रमा समेत क्रियाशिल रहेको कुरा संस्थाले औल्याएको उनले बताइन् । उनले कुश्मा नगरपालिका र आफ्नो व्यक्तिगत तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले पछिल्लो समयमा महिलाहरु सामाजिक क्षेत्रमा समेत आफ्नो दायित्व बोध गर्दै अग्रसर भएको खुशी व्यक्त गरे । उनले इश्वरीय ममतामयी परोपकारी संस्थाले साँच्चिकै परोपकारी काम गरेको धारणा राखे । सोही अवसरमा सामुदायिक सेवा समाज पर्वतका इञ्चार्ज पूर्णिमा थापाले महिला दिदीबहिनीहरुले गरेको कार्यको प्रशंसा गर्दै सकरात्मक सोचकै कारण महिलाहरु परिवर्तनउन्मुख भएको धारणा राखिन् । उनले महिलाहरु आफु भित्रको नकरात्मक सोचलाई बदलेर समाज परिवर्तनमा अग्रसर हुन समेत आग्रह गरिन् । कार्यक्रममा आयोजकले इश्वरीय कार्यबाट संकलित रकम विभिन्न ७० देखि ९३ बर्ष उमेर समुहसम्मका २७ जना महिलाहरुलाई जनही १ लाख रुपैँया सहित सम्मानित गरिएको थियो । संस्थाकी अध्यक्ष ममता विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष चित्रकला शर्मा, नेपाल रेडक्रस सोसाइटी रामरेखा उपशाखा बागलुङका सभापति तेजेन्द्र आचार्य, संस्थाका सल्लाहकार मिनप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए भने सञ्चालन संस्थाका उपाध्यक्ष बाबुकाजी घिमिरेले गरेका थिए । सोही अवसरमा संस्थाको कामको प्रशंसा गर्दै सामुदायिक सेवा समाज पर्वतकी इञ्चार्ज पूर्णिमा थापा र बागलुङ रेडक्रस रामरेखा उपशाखाका सभापति तेजेन्द्र आचार्यले जनही ५ हजार सहयोग प्रदान गरेका थिए ।