गर्मी मौसममा सरुवा रोगको सम्भावना बढी सतर्कता अपनाउन डाक्टरको सुझाव - News site from Nepal

काठमाडौँ । गर्मी मौसममा सरुवा रोगको सम्भावना अत्यधिक हुने भएकाले यी रोगबाट बच्न सतर्कता अपनाउनुपर्ने डाक्टरहरूले सुझाव दिनुभएको छ । गर्मी मौसम सुरुआतसँगै कीटाणु सक्रिय हुने र सरुवा रोग प्रकोपको सम्भावना बढ्नसक्ने सम्भावना हुन्छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले गर्मी मौसममा दूषित पानी र अस्वस्थकर खानाका कारण विभिन्न रोग लाग्ने भएकाले पिउने पानी स्वच्छ हुनुपर्ने सुझाव दिनुभयो ।
उहाँले कतिपय स्थानमा लामखुट्टेको प्रकोपले डेङ्गु, मलेरिया, स्क्रबटाइफस जस्ता रोग देखा पर्न थालेको जानकारी दिनुभयो । उहाँले वर्षायामसँगै अत्यधिक गर्मीका कारण उच्च ज्वरो आउनसक्ने, चक्कर लाग्ने, बेहोस हुने जस्ता स्वास्थ्य समस्या देखा पर्न सक्ने भन्दै त्यसबाट सचेत रहनुपर्ने सुझाव दिनुभयो ।
गर्मीकै कारण शरीर धेरै कमजोर हुने र थकान महसुस हुने तथा अत्यधिक गर्मीले बान्ता आउने, टाउको दुख्ने तथा झाडापखालाजस्ता लक्षणहरू देखिन सक्छन् । गर्मीमा ज्वरो, टाइफाइड, झाडापखाला, आउँ, स्क्रबटाइपस, ठेउला, डेङ्गु, जन्डिस लगायतका रोग यो समयमा देखा पर्छन् । डा. पुनले वर्षायाममा टेकुस्थित सरुवा रोग अस्पतालमा दैनिक ३० देखि ४० जना बिरामी गर्मी मौसमले लाग्ने रोगका कारण आउने गरेको जानकारी दिनुभयो । उहाँले यीबाहेक सर्पले टोकेर आउने बिरामी पनि दैनिक १० देखि १५ को सङ्ख्यामा रहेको बताउनुभयो ।
यस्तै गर्मीमा ज्वरो, फुड प्वाइजन, टाइफाइड, मलेरिया, कीटजन्य रोग देखापर्न सक्ने भन्दै उहाँले यस्ता रोगबाट सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो । वर्षायाममा विशेषगरी खानेपानी र खानेकुरामा विशेष ध्यान दिनुपर्ने भन्दै पुनले पिउने पानी तथा खानेकुराबाट पनि धेरै रोग लाग्ने सम्भावना हुन्छ भन्नुभयो । गत वर्ष काभ्रेमा खानेपानीकै कारण चार सय मानिसमा झाडापखालाको प्रकोप फैलिएको थियो ।
वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले गर्मी मौसममा ज्वरो, टाइफाइड, एलर्जी लगायतका समस्या लिएर बिरामी आउने गरेको बताउनुभयो । उहाँले यो मौसममा मुख्यतः खानेपानीमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पानीबाट सरुवा रोग फैलनसक्ने भन्दै पानी उमालेर पिउनसमेत सुझाव दिनुभयो ।
धाराको पानी, ट्याङ्करको पानी र जारकै पानीसमेत उमालेर पिउनुपर्ने भन्दै उहाँले वर्षायामको पानी प्रदूषित हुनसक्ने भएकाले सचेत हुनुपर्नेमा जोड दिनुभयो । यस्तै उहाँले बालबालिकालाई पानी खुवाउँदा सधैँभरि उमालेको पानी मात्र खान सुझाव दिनुभयो । उहाँले वीर अस्पतालमा आउने सरुवा रोगका बिरामीलाई टेकुस्थित सरुवा रोग अस्पताल पठाउने गरेको जानकारी दिनुभयो । उहाँले वीरमा भने क्रोनिक रोग भएका बिरामीको चाप धेरै हुने गरेको बताउनुभयो ।
डा. सेन्चुरीले अहिले धेरैजसो बिरामी पेट दुख्ने, जन्डिस, झाडापखाला, आउँजस्ता समस्या लिएर अस्पताल आउने गरेको बताउनुभयो । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेले गर्मी मौसममा झाडापखाला, हैजा, जन्डिस, टाइफाइड, आउँजस्ता रोगको समस्या आउने गरेको बताउनुभयो । उहाँले यो मौसममा स्क्रबटाइपस, इन्सेफ्लाइटिस, मलेरिया, डेङ्गु लगायतका रोगहरू लाग्ने हुनाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो । गर्मी मौसममा ब्याक्टेरियाहरूको बढ्दो सक्रियताले गर्दा ज्वरो, डेङ्गु, मलेरिया, स्क्रबटाइपस, झाडापखाला, टाइफाइडजस्ता रोगहरू बढेको बताउनुभयो । डा. पाण्डेले टाइफाइड, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, कब्जियत देखिने, निरन्तर एक हप्तासम्म रुघाखोकीको लक्षण देखिने भन्दै यस्तो अवस्थामा पनि तत्काल अस्पताल जान आग्रह गर्नुभयो ।
शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्गाले जाडोमा भन्दा गर्मी मौसममा बिरामीको चाप बढी हुने गरेको बताउनुभयो । उहाँले अहिले पनि दैनिक १६ देखि २५ सय बिरामी उपचारका लागि आउने गरेको भन्दै यो जाडो मौसममा आउने बिरामीको सङ्ख्याभन्दा अत्यधिक रहेको बताउनुभयो ।
सरुवा रोग विशेषज्ञ पुनले गर्मी मौसममा २४ घन्टामा कम्तीमा चार लिटर पानी वा अन्य झोल पदार्थ जस्तै जीवनजल, तरकारी, दालको झोल पिउनुपर्ने बताउनुभयो । अत्यधिक गर्मीको समयमा खेतबारीमा काम गर्नु वा कडा व्यायाम नगर्न सुझाव दिँदै उहाँले शरीर ढाकिने गरी खुकुलो र हल्का रङका लुगा लगाउन सुझाव दिनुभयो ।

बालबालिकालाई बढी असर
वरिष्ठ बालरोग विशेषज्ञ डा. सरिता श्रेष्ठले गर्मी मौसममा धेरैजसो बालबालिका रोगको सिकार हुने गरेको बताउनुभयो । उहाँले बालबालिकाले गर्मी मौसममा खाएको खाना राम्रोसँग नपच्ने, जसले गर्दा बालबालिकामा झाडापखाला, आउँ, एलर्जीजस्ता समस्या देखापर्ने बताउनुभयो । अत्यधिक गर्मीका कारण बढीजसो चिसो खानेकुरा खाने गरिन्छ, बच्चामा यसको छिटो असर पर्ने हुनाले चिसोले लाग्ने रोगको असरसमेत देखा पर्न सक्छ । जस्तै ज्वरो आउने, खोकी लाग्ने, एलर्जी हुने जस्ता समस्या पनि यही मौसममा देखा पर्छन् ।
बालबच्चा घरको खानाभन्दा बजारमा पाइने खानामा बढी चासो राख्ने भन्दै उहाँले बाहिरको खानेकुरा खुवाउन नहुने बताउनुभयो । होटल तथा बाहिर खाने खानेकुराले बालबालिकामा पेट दुख्ने, डायरिया हुने, बान्ता हुने जस्ता समस्या देखा पर्छ । त्यस्तै फोहोर तथा धुलोका कारण शरीर चिलाउने अनि हातखुट्टामा घाउ हुने सम्भावना पनि उत्तिकै हुन्छ ।
कसरी बच्ने ?
गर्मी मौसममा बान्ता तथा झाडापखाला लाग्ने कारण भने दूषित खानपान तथा पानी हो, डा. श्रेष्ठले भन्नुभयो, “बासी, सडेगलेका तथा झिँगा भन्किएका खानेकुरा, फोहोर पानी अनि फोहोरी हातबाट बनाइएका खानेकुराबाट टाढै रहनुपर्दछ । ” खाना राख्ने भाँडा फोहोर भएर पनि रोग लाग्ने भन्दै उहाँले बजारमा काटेर राखिएका फलफूललाई धोएर मात्र खानुपर्ने बताउनुभयो ।
डा. श्रेष्ठका अनुसार पानी उमालेर पिउने गर्दा गर्मीमा ८० प्रतिशत सम्भावित रोगबाट बच्न सकिन्छ । यो मौसममा रोगहरू फैलिने हुनाले उमालेर सेलाएको पानी मात्र पिउनुपर्छ । यस्तै खानेकुरा मात्र होइन, लगाउने कपडाले पनि गर्मीमा असर गर्दछ । कपडा पूरा तर हलुका लगाउने गर्नुपर्छ । पूरा कपडा नलगाउँदा लामखुट्टेले टोकेर डेङ्गु लगायतका रोग लाग्ने भएकोले सतर्क हुनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!