पर्वत– तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेरको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को फलेवास नगर कमिटि गठन गरिएको छ ।
शुक्रवार फलेवासमा सम्पन्न भेलाले पिताम्वर शर्माको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटि सर्वसम्मत रुपमा चयन भएको छ । कमिटिको सचिबमा शोभाकुमारी क्षेत्री रहनुभएको छ । जिल्लाका सात स्थानीय तहमध्ये पहिलोपटक फलेवासमा कमिटि टुंगिएको हो । भेलामा नेकपाका नेताहरु मनोहर बि पौडेल, मोती पौडेल, देवेन्द्रराज पाण्डे, भक्त कुँवर, पदमपाणी शर्मा, गगन थापा लगायतको सहभागितामा बसेको कार्यदलको बैठकले सर्वसम्मत रुपमा कमिटिको टुंगो लगाएको हो । भेलाको अध्यक्षता संयन्त्र सदस्य मञ्जु अधिकारीले गर्नुभएको थियो ।
यस अघि कुश्मामा सम्पन्न बैठकले जिल्लाका चार स्थानीय तहमा साविक एमाले र तीन स्थानीय तहमा साविक माओवादी केन्द्रको नेतृत्वमा कमिटि गठन गर्ने निर्णय गरेको थियो । जसमा फलेवास, महाशीला, पैंयु र मोदी साविक एमालेको भागमा र कुश्मा, जलजला र विहादी गाउँपालिका साविक माओवादीको भागमा परेको थियो । सोहि अनुसार फलेवासमा नेकपाका नेता पिताम्वर शर्मालाई अध्यक्ष बनाइएको हो ।
यस्तै जिल्लाका अन्य स्थानीय तहहरुमा पनि तत्काल सर्वसम्मत एकता टुंगाउने प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार अब केहि दिनमै जिल्लाका स्थानीय तह र वडा समेतमा एकता भैसक्ने बताउनुभयो ।