माधव पराजुली,पोखरा
नेपाल भ्रमण बर्ष २०२० लाइ लक्षित गरि कालीगण्डकी नदीमा क्रुज सिप सञ्चालन गरिएको छ । पर्वत,गुल्मी र स्याङजाको संगम स्थलमा कालिगण्डकी जलविधुत आयोजनाका क्रममा बनेको जलाशयमा क्रुज सिप सञ्चालनमा ल्याइएको हो । यस जलयात्राको लम्बाई ७ कि.मि. रहेको छ । २५ लाखको लागतमा ईटहरीमा निर्माण गरिएको क्रुज सिप (माउण्ट मकालु पानीजहाज) शालिग्राम कालीगण्डकी जलयातायात (पानी जहाज) कम्पनी प्रा.लि.ले सञ्चालनमा ल्याएको हो ।
क्रुज सिपको शनिवार गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वतावरण मन्त्री विकास लम्सालले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै मन्त्री लम्सालले नेपालमा जल पर्यटनबाट आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन गर्न सकिने बताउनुभयो । भ्रमणवर्ष २०२० लक्षित गरी सञ्चालनमा ल्याइएको क्रुजसिपले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री लम्सालले कालीगण्डकी प्राकृतिक, साहसिक तथा धार्मीक पर्यटकीय हिसावले महत्वपूर्ण रहेको चर्चा गर्दै देवघाट,रानीमहल,सेतीवेणी,मोदीवेणी हुदै मुक्तीनाथ सम्मको धार्मीक पर्यटकीय स्थललाई एउटा प्याकेजका रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
कालिगण्डकी गाउँपालिकाका अध्यक्ष खीम बहादुर थापाले पर्यटकी प्रचुर सम्भावना भएर पनि यस क्षेत्र सधै ओझेलमा परेको बताउदै कालिगण्डकी जलशायमा जलयात्रा सँगै अन्य पर्यटकिय गतिविधिहरु बढाउने योजनामा आफुहरु रहेको बताउनुभयो । पर्वतको विहादी गाउँपालिका,स्याङ्जाको गल्याङ नगरपालिका,कालिगण्डकी गाउँपालिकामा पर्ने यस क्षेत्रमा तिन तह मिलेर पर्यटकीय योजना बनाई अगाडि बढ्ने बताउनुभयो ।
कालिगण्डकी गाउँपालिका वडा नं. ७ मिर्मी बाट शुरु भएको जलयात्रा विश्व प्रख्यात तथा प्रसिद्ध पर्यटकीय स्थल शिला शालिग्राम भएको स्थान सेतीवेणी सम्म पुगीन्छ । विश्वकै ठुलो शालिग्राम दर्शन गर्न आउने पर्यटकहरुले जलयात्र गरी मनोरञ्जन प्राप्त गर्न सक्नेछन् । सेतीवेणी बाट मिर्मी सम्मको जलयात्रा गर्ने तथा शिला शालिग्राम दर्शनका लागि मिर्मी बाट जलयात्रा गर्ने पर्यटकहरु अब १० मिनेटमै पुग्ने कम्पनीका सञ्चालक चित्र बहादुर रानाले जानकारी दिनुभयो ।
छ महिना अगाडि नेपाल सरकारबाट मकालु पानीजहाज सञ्चालनका लागि अनुमति पाएको यस कम्पनीले अहिले २० सिटको क्रुजबाट यात्रा शुरु गराएता पनि तिन महिनाभित्र १२० ‘सिटर स्मल क्रुज’ सञ्चालन गरिने उहाँले बताउनुभयो ।
यहाँ यस अघि देखिनै ईन्जिन र काठ बाट बनेको ५० देखि १ सय जना मानिसहरु सम्म बोक्न सक्ने क्षमताका १० वटा स्टिम्बर सञ्चालनमा छन् ।
उदघाटन कार्यक्रममा कालिगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोईराला,वडा नं. ५ का वडाध्यक्ष विष्णु बस्याल,गल्याङ नगरपालिकाका वडा नं. ७ का वडाध्यक्ष मुक्ती प्रसाद भट्टराई, कालीगण्डकी जलयातायात (पानी जहाज) कम्पनी सचिब हरि भट्टराई,संस्थापक अध्यक्ष भीष्मराज न्यौपाने लगाएतले कालीगण्डकीमा सञ्चालन गरिएको क्रुज सिपले आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण थप्ने बताउनुभयो ।