पर्वत– पर्वतको कुश्मामा शनिवार सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा ७ सय १८ जनाको मृगौला परिक्षण गरिएको छ ।
कुश्मा नगरपालिका, पर्वत कुश्मा समाज, लायन्स क्लव अफ काठमाडौं नर्थवेष्टको आयोजना, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरिएको एकदिने शिविरमा बिरामीहरुको उल्लेख्य सहभागिता रहेको थियो । शिविरमा आएर मृगौलाको समस्या भएका र शंकास्पद विरामीहरुले समेत जाँच गरेका हुन् ।
जाँच गरेको मध्ये ३४ जनालाई मृगौला संवन्धि समस्या देखिएको छ । समस्या भएकाहरुलाई थप जाँच गर्नका लागि सिफारिस गरिएको छ ।
कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले शिविरको उद्घाटन गर्नुभएको हो । कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख जोशीले स्वास्थ्य नै मानिसको धन रहेको बताउँदै हरेक व्याक्ति आफ्नो स्वास्थ्य प्रति सजग हुनुपर्ने बताउनुभयो । धेरै मान्छेहरु रोग लागेपछि मात्रै अस्पताल धाउने गरेको बताउँदै जोशीले रोग लागेको वा नलागेको भन्ने बारेमा बेलाबेलामा परिक्षण गर्दा उपचारमा हुने खर्च जोगिने र बेलैमा उपचार अकालमा ज्यान जाने समस्या नआउने बताउनुभयो ।
कार्यक्रममा अनुभव प्राप्त चिकित्सकहरुको टोली सहभागी भएर परिक्षण सेवा प्रदान गर्नुभएको थियो ।
शिविर अस्पतालको व्यवस्थापनमा सम्पन्न भएको हो । जिल्ला अस्पताल पर्वतले पनि नियमित रुपमा मृगौलाको परिक्षण गर्न शुरु गरेको छ ।