भोली उपनिर्वाचनका दिन कास्कीमा गाडी बन्द - News site from Nepal
भोली उपनिर्वाचनका दिन कास्कीमा गाडी बन्द

पोखरा — उपनिर्वाचनको दिन शनिबार कास्कीमा सवारी साधन चल्न नपाउने भएका छन्  । कास्की प्रशासनले सूचनामार्फत बिहान १२ बजेदेखि दिनभर अत्यावश्यक सेवाका र चुनावी प्रयोजनका लागि अनुमति लिएका सवारीबाहेक अन्यलाई रोक लगाएको हो  ।

यसैगरी निर्वाचन क्षेत्र भएर अर्को जिल्लामा आवतजावत गर्ने सवारी साधनलाई भने प्रत्येक ३/३ घण्टामा स्कर्टिङ गरी बीचमा कुनै पनि यात्रु झर्न र चढाउन नपाउने गरी आवतजावत गराउने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।पूर्वमा कोत्रेखोला पुल (तनहुँ सिमाना, पृथ्वी राजमार्ग), पश्चिमउत्तरमा नयाँपुल (पोखरा–बागलुङ–मध्यपहाडी राजमार्ग, पर्वत सिमाना) र दक्षिण पश्चिममा भकुन्डे (सिद्धार्थ राजमार्ग, स्याङ्जा सिमाना) कालीमाटी खोलामा सवारी साधन रोकिनेछन् ।

रोकिएका सवारी साधनलाई प्रहरीले प्रत्येक ३/३ घण्टामा स्कर्टिङ गरी सिमाना कटाउने सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । उनका अनुसार स्थानीयस्तरमा सञ्चालन हुने सवारी साधनलाई भने उक्त दिन सञ्चालनमा पूरै रोक लगाइएको छ ।

उपनिर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ । मतदान समाप्त नहुँदासम्मको अवधिमा अपरिचित व्यक्तिको प्रवेश, अस्वाभाविक व्यवहार र शंकास्पद गतिविधि भएमा प्रहरीलाई खबर गर्न प्रशासनले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!