पर्वत जिल्ला अस्पतालमा थपिए यस्ता सेवाहरु, उपचारका लागि अब जानु पर्दैन पोखरा काठमाण्डौँ - News site from Nepal
पर्वत/ पर्वत अस्पतालमा बिरामीहरुका लागि अत्याधुनिक उपकरणहरुबाट स्वास्थ्य उपचार सेवा दिन थालिएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा एक्सरे, ल्याब लगायतका अत्याधुनिक उपकरणहरु थप गरेको हो । थप गरिएका अत्याधुनिक उपकरणहरुको गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री नरदेबी पुनले बुधबार देखि सुरुवात गर्नुभयो ।
पर्वत जिल्ला अस्पतालमा सिआर सिस्टमको डिजिटल एक्सरे, मुटुको समेत भिडीयो एक्सरे गर्न सकिने कलर डोप्लर युएसजी, मृगौलाको डायलसिस सेवाका लागि आवश्यक पर्ने सोडियम पोटासियम एनलाईजर, थाइराईड परिक्षण गर्ने मेसिन लगायतका २२ वटा नयाँ उपकरण प्रयोगमा ल्याएको हो । थप गरिएका उपकरणहरु क्षेत्रियस्तरका अस्पताल र पोखराका महंगा निजी अस्पतालमा प्रयोग हुँदै आएका थिए । पर्वत अस्पालमा नै यो सेवा उपलब्ध भएपछि ल्याब, एक्सरे र अन्य सेवाका लागि पोखरा जानुपर्ने बिरामीको बाध्यता अन्त्य भएको अस्पतालकी निमित्त मेडिकल सुपरिटेण्डेन्ट सन्तोषी थपलियाले जानकारी दिनुभयो । ‘अहिले सम्म पुरानो प्रबिधीबाट परिक्षण गर्दा रोग निदानका लागि समस्या थियो’ उहाँले भन्नुभयो ‘अब बिरामीले पोखरा जानुपर्ने धेरै खालका समस्या जिल्ला अस्पतालमै उपलब्ध भएको छ ।
पर्वत जिल्ला अस्पतालले एक बर्षको अवधीमा उपचार र स्वास्थ्य परिक्षणको क्षेत्रमा धेरै सुधार गर्दै आएको छ । अस्पतालमा आएको सुधारका कारण नै अघिल्लो आर्थिक बर्षमा भन्दा गएको आर्थिक बर्षमा अस्पतालमा आउने बिरामीको संख्या २५ प्रतिशत भन्दा बढी बढेको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीले बताउनुभयो । ‘अस्पतालमा थपिएका सुबिधा र स्वास्थ्यकर्मीको लगनशिलताले नागरिकको बिश्वास बढ्दै गएको बलियो प्रमाण यही हो’ उहाँले भन्नुभयो ‘पचास सैयाको अस्पताल सञ्चालनमा आएपछि अझै धेरै बिश्वास आर्जन गर्न सक्ने बिश्वास छ’ अस्पतालमा पौष देखि मृगौलाको डायलासिस गर्ने, मानसिक रोगको उपचार गर्ने सुबधिा समेत थपिन लागेको उहाँले जानकारी दिनुभयो ।
यसैबिच नयाँ सेवाको शुरुवात गर्दै गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री नरदेबी पुनले अत्याधुनिक उपकरण र डाक्टरको बोली तथा ब्यबहारले नै अस्पतालले नागरिकको बिश्वास जित्न सक्ने बताउनुभयो । ‘एउटा अस्पतालले बिरामी पुगेपछि उसको क्षमता अनुसार सबै सुबिधा दिनुपर्छ’ उहाँले भन्नुभयो ‘अस्पतालमा पुगेपछि डाक्टरले धेरै बिरामीमा जीवन प्रतिको उत्साह जगाउन सक्नुपर्छ । प्रदेश सरकारले सबै अस्पतालमा जनशक्ति, उपकरण र अन्य कारणले बिरामी फर्केर जानु नपर्ने अवस्था आउन नदिने तयारी गरिरहेको उहाँको भनाई छ । प्रदेशले नयाँ जनशक्ति नियुक्त गर्न पनि नपाउने र दक्ष जनशक्तिका लागि संघीय सरकारको मुख ताक्नुपर्ने अबस्था भएकाले पनि चाहे जति सुधार गर्न संभब नभएको गुनासो मन्त्री पुनको छ । जिल्ला अस्पतालहरुमा जनशक्ति र उपकरणका हिसाबले सुबिधा सम्पन्न गराउन प्रदेशल कुनै कसर बाँकी नराख्ने आश्वासन पनि उहाँले दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari