
पर्वत– पर्वतको कुश्मामा इजाजत नलिइ अधिकाँश होटल तथा पसलहरुले मदिरा बेचबिखन गर्दै आएको पाइएको छ । विहिवार अवैध मदिरा तथा सुर्तीजन्य पदार्थको अनुगमन उपसमितिले मदिराजन्य कारोबार गर्ने होटल तथा पसलको अनुगमन गर्दा त्यस्तो खुलासा भएको हो ।
सदरमुकाम कुश्मामा ३७ वटा होटल, रेस्टुरेन्ट र पसलहरुको अनुगमन गर्दा १३ वटाले मात्र इजाजत लिएको र २४ वटाले अवैध तरिकाले विक्री गर्दै आएको पाइएको छ । अन्तशुल्क ऐन २०५८, मदिरा विक्री वितरण नियमन निर्देशिका २०६५, मदिरा ऐन २०३१ ले तोकेको नियम विपरित कारोवार गरेको पाईएकाले ७ दिनभित्रै कानुनी प्रक्रिया पुरा गर्न सुझाइएको अनुगमन उपसमितिका संयोजक तथा कोष नियन्त्रक राम शर्मा लामिछानेले जानकारी दिनुभयो ।
मदिरा तथा सुर्तीजन्य पदार्थको विक्री गर्न कोष तथा लेखा नियन्त्रण कार्यालयबाट ईजाजत पत्र लिनुपर्ने, मदिरा र सुर्तीजन्य पदार्थ खाद्य स्टोर्सबाट विक्री गर्न नहुने नियम रहेको छ । तर, बजारमा किराना पसलमा पनि मदिरा र सूर्तीजन्य पदार्थ एउटै पसलबाट विक्री गरेको पनि अनुगमनमा पाईएको लामिछानेले बताउनुभयो ।
व्यवसायीहरुले आफुहरुलाई नयाँ नियमको बारेमा जानकारी नभएको, नयाँ आर्थिक वर्षमा ईजाजत लिने योजनामा रहेको , दर्ता प्रक्रियाको बारेमा ज्ञान नभएको कारण सुनाए । अनुगमन समितिले व्यवसायीलाई दर्ता गरेर मात्रै पसल सञ्चालन गर्न पनि सुझाएको छ । प्रमुख कोष नियन्त्रक नवराज सापकोटाले ईजाजत नलिई वा अन्तशुल्क स्टिकर नटाँसी विक्री गरेको पाईए आवश्यक कारवाहि गरिने बताउनुभयो ।
उहाँले अव नियमित बजार अनुगमन गरि अवैध व्यवसायीहरुलाई वैध बनाउन कार्यालयले कडाई गर्ने बताउनुभयो । अनुगमन समितिका जिल्ला प्रसासन कार्यालय, कुश्मा नगरपालिका, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, जिल्ला प्रहरी कार्यालय र ससत्र प्रहरी वलका प्रतिनिधी सहभागी भएका थिए । पुल्चोकबाट शुरु भएको बजार अनुगमन शिवालयचोकमा पुगेर विहिवार सम्पन्न भएको छ ।