काठमाडौं : यही शुक्रबारबाट राजधानीमा सुरु हुने दुईदिने लगानी सम्मेलनका लागि गृह मन्त्रालयले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ।
लगानी सम्मेलनमा आउने पाहुना राष्ट्रका लगानिकर्ताको सुरक्षाका लागि गृह मन्त्रालयले देशको चारवटै सुरक्षा निकायलाई सुरक्षा व्यवस्था मजबुत पार्न निर्देशन दिएको हो। लगानी सम्मेलनका अवधिमा सरकारले प्रतिबन्ध लागाएको विप्लव नेकपाको पार्टीले अप्रिय घटना घटाउन सक्ने भन्दै त्यसमा सचेत रहनसमेत गृहले सुरक्षा निकायलाई निर्देशन दिएको गृह मन्त्रलाय स्रोतले जनाएको छ।
लगानी सम्मेलनको सुरक्षार्थ चार हजार बढी नेपाल प्रहरी प्रत्यक्ष खटिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीले जानकारी दिए। त्यस्तै, सशस्त्र प्रहरीसँग मिलेरसमेत संयुक्त गस्ती सञ्चालन हुने ज्ञवालीको भनाइ छ। राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाले समेत लगानी सम्मेलनलाई मध्यनजर गरेर आफ्ना इन्टेलिजेन्स जनशक्ति प्रयोग गर्ने जनाइएको छ। सम्मेलन सोल्टिमोडमा रहेको सोल्टि होटलमा हुनेछ। लगानी सम्मेलनमा छिमेकी मुलुक चीन, भारत, म्यानमार, जापान, दक्षिण कोरिया, ओमन, अमेरिका, श्रीलंकालगायत ४० राष्ट्रका करिब ६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहनेछ।
सम्मेलनकै दिन विप्लव समूहको नेपाल बन्द विप्लव समूहको नेकपाले भने आफ्ना कार्यकर्तामाथि सरकारले जबरजस्त धरपकड गरेको भन्दै चैत १६ गते नेपाल बन्दको घोषणा गरेको छ। अरू दिन एसइई परीक्षा दिने विद्यार्थीको समस्यालाई मध्यनजर गरेर चैत १६ गते नेपाल बन्दको घोषणा गरेको छ। प्रहरीले भने बन्दको कुनै असर नहुने र विप्लवका कारण लगानी सम्मेलनामा समेत कुनै सुरक्षा खतरा नहुने जनाएको छ।