पर्वत – पर्वतका सवैजसो डाँडाकाँडाहरु हिउँले सेताम्मे बनेका छन् । यस वर्ष तेस्र्रो पटक हिउँ परेको हो । यस अघि माघ ११ गते र माघ २५ गते शुक्रवार हिउँ परेको थियो ।
जिल्लाका उच्च पहाडी भुभागहरुमा बाक्लो हिमपात परेकाले जनजीवन प्रभावित बनेको हो । मंगलवार साँझदेखि परेको वर्षासँगै जिल्लाको जलजला गाउँपालिकाको लेखफाँट, शालिजा, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरेको लेक र चिसापानी, लगायतका स्थानमा भारी हिमपात भएको छ । अधिकांस डाँडाहरुमा हिमपात भएको खबर आएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । धेरै वर्षपछि बाक्लो हिमपात भएको स्थानीयले जानकारी दिएका छन् । वर्षासँगै हिमपात भएकाले जनजीवनका साथै गाईवस्तुलाई समेत समस्या भएको छ । हिमपातले पाक्न लागेको गहुँ बालीलाई असर पु¥याएको छ ।
समुद्र सतहदेखि दुई हजार मिटरभन्दा माथिल्ला भूभागका सवैजसो ठाएँमा हिमपात भएको छ कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । जलजला गाउँपालिकाको लेकफाँट, मोहोरेडाँडा र बनौलगायतका लेकमा भारी हिमपात भएको जलजला–९ का वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिए ।
कुश्मा नगरपालिका वडा नं. १४ आर्थरडाँडाखर्क र मोदी ८ चित्रेमाथि पञ्चासेमा बाक्लो हिउँ पर्दा जनजीवन कष्टकर बनेको पञ्चासे पुगेका पत्रकार दुर्गाप्रसाद शर्माले जानकारी दिए । धेरै वर्षपछि बाक्लो हिउँ परेपछि स्थानीयहरु घर वाहिरै निस्कन नसकेको उनले बताए ।