
काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन तीन महिना बाँकी छँदा केन्द्रीय विभागको संख्या २८ बाट बढाएर ४५ वटा पुर्याउने प्रस्ताव गरेका छन्।
महाधिवेशनको संघारमा विभाग बढाउने प्रस्तावलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अस्वीकार गरेको छ। कांग्रेसमा देउवाले १७ वटा विभाग थप्न प्रस्ताव गरेपछि संस्थापन इतरपक्ष रुष्ट बनेको हो। महाधिवेशनलाई केन्द्रित गरी सभापतिले आफ्ना पक्षका नेताहरूलाई व्यवस्थापन गर्न यस्तो प्रस्ताव ल्याएको भन्दै इतरपक्षले विरोध जनाएको छ।
विभाग बढाउने कि नबढाउने भन्ने विवादले बिहीबार केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको थियो भन्ने खबर कान्तिपर दैनिकमा छ। कांग्रेस नेता शेखर कोइरालाका अनुसार उपनिर्वाचनका विषयमा छलफल गर्ने एजेन्डा राखेर बैठक बोलाइएको थियो तर आकस्मिक रूपमा विभागको संख्या थप्ने प्रस्ताव ल्याइएको उनले बताए।
बैठकको अघिल्लो दिन देउवा निवास बूढानीलकण्ठमै बसेको पदाधिकारी बैठकमा एक प्रतिनिधिसभा र तीन प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि पार्टीले तोक्ने उम्मेदवारका विषयमा छलफल भएको थियो। उम्मेदवार तय गर्ने आधिकारिक निकाय संसदीय समिति हो। एक वर्षअघि विघटन भएको समिति पुनः गठन नभएका कारण केन्द्रीय कार्यसमितिबाट पदाधिकारीमा अधिकार प्रत्यायोजित गरेर उम्मेदवार तय गर्ने निधो भएको थियो।
त्यहीअनुसार निर्णय गर्न केन्द्रीय बैठक बोलाइएको थियो। एकाएक विभाग बढाउने प्रस्ताव आएपछि बैठक बस्नै सकेन।