
पर्वत । जिल्लाको मोदी गाउँपालकाको आगामी बजेट ४३ करोड ७३ लाख २४ हजार रुपैंया प्रस्तुत गरिएको छ । गाउँपालिकाको पाँचौ गाउँ सभामा उपाध्यक्ष सेती महतले आगामी बर्ष २०७६÷०७७ का लागि उक्त रकम प्रस्तुत गरेकी हुन । गाउँपालिकाले अगामी बर्ष गाउँपालिका भित्रका १६ वटा वस्तीलाई नमुना बनाउने गरी प्रस्ताव गरेको छ ।
कुल बजेट मध्ये चालु तर्फ ४ करोड ९५ लाख ८१ हजार रुपैंया प्रस्ताव गरेको मोदी गाउँपालिका कुल १४ करोड ८७ लाख ४३ हजार रकम पुँजीगत विकासमा खर्च गर्ने गरी प्रस्ताव गरेको छ । गाउँपालिकाले खर्च गर्ने री पूर्वाधार विकास तर्फ ६ करोड, आर्थिक विकासमा ३ करोड ५० लाख, सामाजिक विकासमा २ करोड ५० लाख, वन वातावरण तथा विपद ब्यवस्थापनमा ५० लाख, संस्थागत विकास सेवा प्रवाह र सशासनमा ५० लाख रकम प्रस्ताव गरिएको छ । यसैगरी गाउँपालिका आगामी बर्षका लागि कुल १ करोड रकम समपुरक कोषमा राखेको छ । आकस्मीक कोष परिचालनका लागि ८७ लाख ४३ हजार रकम जगेडा गरिएको उपाध्यक्ष महतद्धारा प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।
आगामी बर्षका लागि संघिय सरकारबाट सशर्त प्राप्त हुने रकम २३ करोड तथा प्रदेश सरकारबाट शशर्त प्राप्त हुने रकम ९० लाख प्रस्ताव गरिएको छ । गाउँपालिकाले आगामी बर्षका लागि कुल २ करोड ४ लाख ४५ हजार रकम आन्तरीक आय हुने प्रक्षेपण गरेको छ । संघिय सरकारबाट ७ करोड १३ लाख र प्रदेश सरकारबाट ३४ लाख ९० हजार रकम राजश्व वापत प्राप्त हुने गाउँपालिकाको बजेटमा उल्लेख छ । गाउँपालिकाले वित्तिय समानीकरण तर्फ संघबाट ९ करोड १० लाख तथा प्रदेशबाट १ करोड २० लाख ८९ हजार रुपैंया आम्दानी हुने अनुमान गरेको छ । संघिय सरकारबाट सशर्त अनुदान वापत २३ करोड र प्रदेश सरकारबाट ९० लाख आम्दानी हुने समेत बजेटमा उल्लेख गरिएको छ ।
जिल्लाको आन्तरीक आय धेरै हुने गाउँपालिकाको रुपमा रहेको मोदी गाउँपालिकाले आगामी बर्ष गाउँपालिका भित्रका १६ वटा वस्तीलाई नमुना वस्तीको रुपमा विकसित गर्ने गरी बजेटको ब्यवस्था गरिएको गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेले जानकारी दिए । बजेटमा कृषि, पशुपालन र लघु उद्यमलाई प्राथमिकतामा राखिएको छ । उद्यम प्रवद्र्धनका लागि ६० लाख रुपैया विनियोजन गरिएको छ । यसैगरी कृषि बजारको स्थापना गर्ने तथा कृषिजन्य वस्तुको ढुवानीमा सहुलियत प्रदान गर्ने गरी बजेट प्रस्ताव गरिएको प्रवक्ता लामिछानले जानकारी दिए ।
गाउँपालिकालाई सम्बृद्ध बनाउन सम्बृद्धिका पाँच आधार, जल विद्युत, कृषि, पर्यटन पर्यावरण र पूर्वाधार भन्ने मुल नाराका आधारमा बजेट प्रस्ताव गरिएको छ । आगामी बर्ष अपांग तथा दलितलाई स्वरोजगार तर्फ उन्मुख गराउने तथा पर्यटन क्षेत्रको विकास गर्ने गरी नीति तथा कार्यक्रम समेत ल्याइएको छ । यस अघि नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष प्रेम पौडेलले प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रम सर्वसहमत पारित गरिएको छ । गाउँ सभामा पेश गरिएको बजेट माथि भने आगामी असार २१ गतेबाट छलफल चल्ने प्रवक्ता लामिछानेको भनाई छ ।