
पर्वत / पर्वत जिल्लामा ७५ बर्षपछि परेको भिषण असिना पानीले बालीनालीमा मात्रै होइन सर्वसाधरणका घरका छाना समेत छियाछिया बनाएपछि जनप्रतिनिधी त्रिपाल बोकेर पिडीतका घरमा पुगेका छन ।
असिनाले करोडौको बालीनाली र घरमा टिनको छानो छेडेपछि पालमुनी रात बिताउन परेका बेला असिना पिडितहरुको स्थलगत अनुगमनका लागि प्रतिनिधीसभाका सदस्य पदम गिरी र कुस्मा ११ का वडा अध्यक्ष शिब पौडेल घरघरमै पुग्नुभएको हो ।

भीषण असिनापानीले पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ११ पकुबा, वडा नं १४ आर्थर र मोदी गाउँपालिका ७ राम्जा तथा वडा नं ८ चित्रे, वडा नं ५ बाजुङ्ग, वडा नं २ देउपुरमा किसानहरुले लगाएको नगदेबाली तथा मौषम अनुसारको तरकारी खेती नष्ट गरेको छ भने पकुवा, आर्थर, राम्जा, बाजुङ्गमा सर्वसाधरणका घर र बिद्यालयहरुमा समेत क्षति पु¥याएको छ ।
असिनाले कुस्मा र मोदीगाउँपालिकाका बिभिन्न वडामा पु¥याएको क्षतिको स्थलगत निरीक्षण गर्दै प्रतिनिधीसभाका साँसद पदम गिरीले दैबीप्रकोपबाट बालीनाली र घर संचरनामा भएको क्षतिले मर्माहत बनाएको बताउनुभयो । उहाँले, पकुवा, राम्जा, चित्रे, बाजुङ्गमा पुगेर पिडीत कृषकलाई भेटेर राहतका लागि पहल गर्ने आश्वासन पनि दिनुभयो । असिनाकै कारण धेरै घरमा क्षति पुगेपछि कुस्मा नगरपालिका वडा नं ११ का अध्यक्ष शिब पौडेल पाल बोकेर पिडीत बस्तीमा पुग्नुभयो । लामागे र पाथ्राबारी, छापामा गरेर १ सय २० भन्दा बढी घरमा क्षति पुगेको र पहिलो चरणमा ६० घरमा पाल बितरण गरेर तत्कालका लागि राहत दिने काम भएको उहाँले बताउनुभयो । जिल्ला समन्वय समितिको सहयोगमा अध्यक्ष पौडेलले राहत बितरण गर्नुभएको थियो ।

असिनाले मकै, ताजा तरकारी, आलु, फलफुल खेतीमा सबैभन्दा बढी क्षति पु¥याएको छ । कुस्मा नगरपालिका र मोदी गाउँपालिकामा सबैभन्दा बढी मकैखेतीमा क्षति पुगेको छ । खेतबारीमा उत्पादन दिने अवस्थामा पुगेको मकै र रोप्न लागेको कोदोको बीउ नष्ट गरेको छ भने पकुवा, आर्थर, राम्जामा लाखौ लगानीमा तयार भएका मोडेल फर्मका तरकारी तथा प्लाष्टिक ग्रिन हाउसहरु नष्ट भएका छन । कतिपय कृषकहरुले कृषि फर्मको बिमा गरेका कारण थोरै भएपनि राहत पाउने आशमा छन भने बिमा नगरेका पिडीतहरु लगानी डुब्ने त्रासमा छन ।