बिनु पोखरेल
केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकार गठन भएको एक वर्ष पुगेको दिन नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गरेकोे ट्वीटटबाटै कुरा सुरु गरौं ।
पाँच वर्षका लागि निर्वाचित सरकारको एक वर्षे कामप्रति इगिंत गर्दै शर्माले ट्वीट गर्नुभएको छ– चार ठेकी मोहीमा तीन थोपा घिऊ !
व्यक्तिका रुपमा विश्वप्रकाश शर्मा बलियो वाकपटु भएका नेतामा पर्नुहुन्छ । तर, उहाँका पछाडिको पदावली संसदको प्रमुख प्रतिपक्ष र एकवर्ष अघिसम्मको सत्तारुढ नेपाली कांग्रेसको प्रवक्ताका रुपमा छ । त्यसैले उहाँले बहुदलीय व्यवस्थाको लामो कालखण्डमा कति ठेकी मोही मथेर कति धार्नी घिउ यो देशलाई दिनुभयो भन्ने कुराको लेखाजोखा हुन्छ, हुनुपर्छ ।
एउटा व्यवस्थाको ठाउँमा अर्काे व्यवस्था स्थापना भएको संक्रमणकालीन समयमा एक वर्षमा के गर्न सकिन्छ, के गर्न सकिँदैन, त्यतातिर नजाउँ । गर्नुपर्ने के के छन् र ती किन भएनन् ? एकछिन त्यता जाउँ ।
त्यतातिर जाने हो भने कांग्रेस प्रवक्ता शर्माको पार्टी नेपाली कांग्रेसले कति ठेकी दही मथ्यो र कति धार्नी घिऊ निकाल्यो, हेर्नुपर्ने हुन्छ । आखिर कांग्रेसले नगरेर अर्काेले गरे पनि जनतालाई चाहिएको विकास हो, प्रगति हो, समृद्धि हो । त्यसै गरे पो तपाईंको दलको कल्याण होला
प्राकृतिक स्रोत सम्पन्न नेपालको स्थानआजको आधुनिक विश्वमा कहाँ छ भन्ने प्रश्नको जवाफ सबैभन्दा बढी कांग्रेस प्रवक्ताका रुपमा विश्वप्रकाश शर्माले नै दिनुपर्ने हुन्छ । जमीनमा उम्रेको हरेक झार औषधि हुने देशमा आज किन खाद्यान्न पनि बाहिरबाटै ल्याउनुपर्छ ? जलस्रोतको धनी देशमा किन बिजुली बाहिरबाटै किन्नुपर्छ ? वलिष्ठ पाखुरी भएका युवाहरु किन दिनहुँ मरुभूमिमा ऊँट जोत्न जानु परेको छ ? उनीहरुलाई यतै रोजगार दिनसक्ने उद्योगहरु नेपाली कांग्रेसको शासन सुरु हुनासाथ किन बन्द भए ? यही आर्थिक नीतिको उपज हो आजको नेपालको अवस्था । त्यस कालमा कति घिउ निस्कियो र कति दही खेर गयो ? यसको लेखाजोखा गर्नु पर्दैन ?
अब अलिकति तथ्यतिर जाउँ र त्यसबेला दही मथेर निकालेको नौनीको परिमाण मापन गरौं ।
अहिलेको नेकपा बाहेक एक–पटक दुईतिहाईको र दुईपटक बहुमतको सरकार बनाउने अवसर पाउने पार्टीको नाम विश्वप्रकाशजीलाई थाहा छ ? पक्कै थाहा छ, त्यसको प्रवक्ता तपाईं आफैं हुनुहुन्छ । तपाईंहरुले कति दही मथेर कति घिउ राष्ट्रलाई दिनुभयो ? यसको हिसाव गर्नु पर्दैन ?
०१५ सालमा दुईतिहाई बहुमतको सरकार बनाउनुभयो । कांग्रेसको दुईतिहाईबाट मुलुकले कति घिउ निकाल्यो ? घिउ निकाल्नुपरेको कुरा ठेकी नै फुटाइयो, अर्थात् बहुदलीय प्रजातन्त्र नै अपहरण भयो । कसको अकुशलताले यो भयो ?
०४८ साल जेठदेखि ०५१ साल मंसिरसम्म तीन वर्ष कांग्रेसकै बहुमतको सरकार बन्यो । त्यसै अवधिमा अन्धाधुन्द निजीकरणले राज्यको स्वामित्वमा रहेका उद्योगधन्दा बेचिए, बन्द गराइए । परिणाम के भयो ? एकातिर उत्पादनमा मुलुक झन् परनिर्भर भयो भने यहाँको श्रमशक्ति विदेशिन वाध्य भयो । आजको नेपालको जुन दुरावस्था छ, यसको थालनी विन्दु त्यही होइन ? विश्वप्रकाशजी के छ जवाफ ? घिउ कति खेर गयो ? देश कसरी ओरालो लाग्यो ?
०५२ साल भदौदेखि ०५३ सालसम्म कांग्रेसकै सरकार बन्यो । कांग्रेसको सत्ताकालमा समाजमा लोकतान्त्रिक स्पेश कति थियो ? संसदभित्रै रहेको एउटा दल हतियार बोकेर जंगल जानुपर्ने अवस्था कसले निम्त्यायो ? लोकतन्त्रप्रतिको तपाईंहरुको ओठेभक्तिमा यस तथ्यलाई कहाँ लुकाउनुहुन्छ ?
कांग्रेसकै नेतृत्वका सरकार हुँदा राष्ट्रिय गौरवका आयोजना कहाँ पुगे ? बारम्बार लोकतन्त्र किन अपहरित भयो ? यी तथ्यहरुलाई कति थोपा घिउ भन्न मिल्छ ? यसको हिसाव विश्वप्रकाशसँग खोज्नु कि कांग्रेस प्रवक्ताबाट ?
एउटा सरकारका ठाउँमा बनेको अर्काे सरकार होइन अहिलेको सरकार । एउटा व्यवस्थाका ठाउँमा अर्काे व्यवस्थाको प्रवन्ध हो यो । यो प्रवन्धको कानुनी जग तपाईंहरुले सरकार छोड्दा तयार गरिएको थियो ? वित्तीय अवस्था कस्तो छोड्नुभएको थियो ? संविधानमा संरचना थिए, भौतिक रुपमा थिए ? छोपेर छोपिँदैन, केही पनि थिएन ।
तब ओली नेतृत्वको तपाईंले भनेको चार थोपा घिउवाला सरकार जुन छ, त्यसले एक वर्षभित्र संवैधानिक र संरचनागत आधार तयार गर्दागर्दै विकासका लागि नयाँ मार्ग देखाएको त छ नि ? तपाईंलाई त्यो चार थोपा लाग्यो ।
सामाजिक सुरक्षाका कार्यक्रम होउन् वा रोजगारीका कार्यक्रम होउन्, ती तपाईंहरुले लगाएको घाउ पुर्न अहिलेको सरकारले गरेको प्रयास होइन ? भूराजनीतिक घेराउमा परेको राष्ट्र जो आफ्नो पारवहन अधिकारबाट पटक पटक वञ्चित भएर नाकाबन्दी झेल्नुपर्ने अवस्था थियो । आज हाम्रो देशका लागि जुनसुकै दिशाबाट समुद्रसम्म पुग्ने कानुनी आधार तयार भयो होइन ? त्यसका लागि भौतिक पूर्वाधार निर्माण भइरहेको छ होइन ? अझ जल परिवहनबाटै समुद्रसम्म पुग्ने तयारी नेपालले गरेको छ होइन ?
उत्पादनशील युवालाई विदेशमा सप्लाई गरेर, यहाँका उद्योग बन्द गरेर, सहज परिवहनका सवै ढोका बन्द गरेर प्रजातन्त्रका कोरा गफ छाँट्दै तीन दशक सत्तामा विताएको कांग्रेसका लागि यो पीडाको विषय हो कि चिडचिडाहटको ?
हाम्रो मानवीय विकासका लागि अहिले नै नगरी नहुने भौतिक पूर्वाधारको विकासप्रति कांग्रेसको दुश्मनी किन ? ओलीको अघिल्लो प्रधानमन्त्रीत्वकालमा तपाईंहरुको समय रेलको विरोध गर्न कागजका रेल र पानीजहाजको विरोध गर्न कागजका पानीजहाज बनाएरै वित्यो होइन ? अनि तपाईंहरुको आत्मविश्वास कति कमजोर ? कागजका खेलौना बनाएर त्यही रेल र पानीजहाजको विरोध गरेको एक वर्ष नपुग्दै चुनावी घोषणा पत्रको गातामा रेलको तस्वीर ! आफूले भनिरहेको कुरा बेठीक छ भन्ने स्वीकारोक्ति होइन यो ?
अहिले मुलुक आफ्ना नदीहरुमा पानीजहाज चलाउने तरखरमा छ, तपाईंहरु रनभुल्ल । सरकारको नीतिकार्यक्रम माथि तपाईंहरुको न फरक मत छ न तार्किक विरोध । बरु समाजका बतासे घटना टिपेर कहिले एउटा गीतको पछि लाग्दै हुनुहुन्छ, कहिले आफैंले चरम दमन गरेको अनसनको समर्थन गर्नुहुन्छ । राजनीतिमा भन्ने कुरा सकिएका दिन यस्तै हुन्छ विश्वप्रकाश शर्माजी ।
गणेशमान सिंह भन्नुहुन्थ्यो, राजनीतिमा भन्ने कुरा सकिएपछि बाँदर नचाएर बस्नुपर्छ र त्यसैलाई काम भन्नुपर्छ । अब सबै सकियो, ‘जति सकिन्छ लूट’ भन्ने शीर्षकको गीतमा नाचेर बस्नुस् तपाईंहरु । कांग्रेसलाई त्यही लूट्न सके लूटमा नाच्ने मदारी बनाउनुहोस् ।
एकपटक दुईतिहाई बहुमतको सरकार, दुईपटक पूर्ण बहुमतको सरकार, झण्डै आधा दर्जन पटक सरकारको नेतृत्व गरेको कांग्रेसले गरेका गौरव गर्न लायक ५ कामको सूची सार्वजनिक गरिदिनुस्, सक्नुहुन्छ ? कि तपाईंहरुको काम अरुले गरेका नयाँ थालनीलाई भत्काउने मात्र हो ?
कम्युनिस्टले ६० वर्ष पुगेपछि गोली हानेर मार्दिन्छन्, तपाईंहरुको राजनीतिक नाराको जग यही होइन ? अनि कम्युनिस्टकै नक्कल गरेर वृद्धभत्तालाई निरन्तरता दिनुभयो होइन ? ऐना होइन, अनुहार सफा गर्नुस् ।
हुन त कांग्रेससँग पहिल्यैदेखि एउटा रोग छ । कांग्रेसले राम्रो भिजन ल्याउँदैन र अर्को सरकारले ल्याएका राम्रा भिजनविरुद्ध मिडिया स्टन्ट चलाउँछ र कोकोहोलोको जगमा दुनियाँलाई दिग्भ्रमित पार्छ ।
अर्को उदाहरण दिउँ ।
केपी ओली नेतृत्वको तत्कालीन सरकारले नाकाबन्दीबाट पाठ सिक्दै उत्तरतिरबाट पनि पारवहन सन्धी गर्दा तपाईंहरुलाई त्यो ज्यादै खोक्रो राष्ट्रवाद लागेको थियो होइन ? तपाईंहरुले विगतमा मञ्चित पोटिलो राष्ट्रवादको एउटा फाइदा अहिले बताइदिन सक्नुहुन्छ ? कि आज संसारसामु ओलीले लिएको त्यही निर्णयका कारण नेपालले पाएको भूराजनीतिक हैसियतमा घिउका थोपा गनेर मात्रै बस्नुहुन्छ ?
शर्माजी, तपाईंहरुले मुलुकका लागि केही गर्नुभएन, त्यसको प्रत्यक्ष साक्षी कम्तिमा पनि २५ वर्ष उमेर पुगेका हरेक नेपाली छन् । अब पनि सक्नुहुन्छ, पार्टीको भूमिकालाई रचनात्मक बनाउनुस् । सरकारलाई खबरदारी गर्नुस्, गलत कुरा छन् भने त्यसको विरोध ।
त्यतिले चित्त बुझ्दैन भने विरोध गर्नुस्, ठीक छ । तर, अवरोधचाहिँ नगर्नुस् । आलोचना, विरोध र अवरोध भिन्न कुरा हुन् । आज तपाईंहरु अवरोधको राजनीति अपनाइरहनुभएको छ । देश बने त सबैको बन्छ । विकासमा साथ दिँदा त कांग्रेसले पनि मेरो साथले भएको विकास हो भन्न सक्छ नि । आखिर कांग्रेसले नगरेर अर्काेले गरे पनि जनतालाई चाहिएको विकास हो, प्रगति हो, समृद्धि हो । त्यसै गरे पो तपाईंको दलको कल्याण होला ।