पर्वत / पर्वत जिल्लामा कार्तिक देखि स्वास्थ्य बीमा कार्यक्रम लागु हुने भएको छ ।
स्वास्थ्य बिमा बोर्डले पर्वत जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न सबै तयारी पुरा गरेर कार्तिक देखि शुरु गर्ने जनाएको हो ।
बोर्ड बिहीबार कुस्मा नगरपालिकामा गरेको सरोकारवालाहरु संगको अभिमुखी करण कार्यक्रममा हरेक वडाहरुमा असोज महिना सम्म दर्ता सहयोगीहरु नियुत्ती गरेर कार्तिक महिना देखि दर्ता शुरु गर्ने जनाएको छ । असोजमै सबै स्थानिय तहका वडाहरुमा दर्ता सहयोगीहरु नियुक्तीका लागि प्रकृया शुरु भैसकेको बोर्डका गण्डकी प्रदेश प्रमुख जीबलाल खरेलले जानकारी दिनुभयो । ‘जति सक्दो चाँडो दर्ता सहयोगीहरु नियुक्ती हुन्छ त्यति नै छिटो दर्ता शुरु हुन्छ’ उहाँले भन्नुभयो । यस बर्ष गण्डकी प्रदेशमा पर्वत जिल्लाबाट कार्यक्रम शुरु गर्न लागिएको हो । बागलुङ्ग, म्याग्दी लगायतका जिल्लामा यस अघि नै कार्यक्रम शुरु भैसकेको छ ।
स्वास्थ्य बीमा कार्यक्रम देशका ४९ जिल्लामा लागु भएको छ भने ४ सय ६९ स्थानिय तहमा लागु भएको छ । स्वास्थ्य विमा कार्यान्वयन हुनु पूर्व पहिलो चरणमा स्वास्थ्यकर्मीहरु र जनप्रतिनिधीहरुका लागि स्वास्थ्य बीमा संवन्धि अभिमुखीकरण गर्ने क्रममा भैरहेको छ । सरकारले स्वास्थ्य उपचारका लागि नागरिकले ठुलो रकम खर्च गर्न नपरोस भनेर बीमा कार्यक्रम सबै जिल्लामा पु¥याउने योजना समेत बनाएको छ । स्वास्थ्य बिमा गर्दा जनाको परिवारले एक बर्षमा ३ हजार ५ सय रुपैंया बिमाशुल्क तिरेपछि एक लाख बराबरको उपचार खर्च पाउने ब्यबस्था मिलाएको छ । अति गरिब, पुर्ण अपांग, तथा क्यान्सर, मुटुरोगी, स्पाइनल इन्जुरी, अल्जाइमर, लगायतका रोगीहरुका लागि भने बिमा शुल्क नतिरी बिमा गर्ने ब्यबस्था मिलाएको छ । ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि सरकारले थप १ लाख रुपैंयाको बिमा निशुल्क गर्ने कार्यक्रम बजेट मार्फत ल्याएको थियो ।
पर्वत जिल्लामा कुस्माबजार स्थित जिल्ला अस्पताल, लुंखु र ठुलीपोखरी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा बिमा कार्यक्रम मार्फत शुल्क भुक्तानी गर्ने ब्यबस्था मिलाइएको छ भने पोखरा, बागलुङ्ग लगायतका ठाउँमा पुगेपनि सरकारी र केही निजी अस्पतालमा समेत बिमा गरेका ब्यक्तिले उपचारको सुबिधा पाउने बोर्डले जनाएको छ ।
यसैबिच अन्तरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले उपचार खर्च महंगो भएर घरखेत बेच्नुपर्ने अबस्था आएको बेला स्वास्थ्य बिमा कार्यक्रम वरदान सावित हुने धारणा राखेका छन । बिपन्न नागरिकले स्वास्थ्य उपचारका लागि लाखौ खर्च गर्न नसक्ने अबस्थामा बिमा कार्यक्रम हरेक ब्यक्तिका बिचमा पुग्न सकेमा यसले नागरिकलाई ठुलो राहत दिने धारणा उनीहरुको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले बिमा कार्यक्रम हरेक घरघरमा पुग्न जरुरी रहेको छ भन्नुभयो । उहाँले जनताले सहज रुपमा उपचार पाउने ब्यबस्था गर्न सकेमा लोककल्याणकारी राज्यको अवधारणा लागु हुन्छ भन्नुभयो । कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बिपन्न नागरिकले बिमा शुल्क तिर्न कठिन भएका अतिगरिब परिचयपत्र पर्वतमा पनि बितरण गर्न जरुरी भएको धारणा राख्नुभयो । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले स्वास्थ्य बिमाले सबै नेपाली नागरिकलाई उपचारका लागि समान सुबिधा दिने भएकाले यसलाई लागु गर्न आवश्यक छ भन्नुभयो । कार्यक्रममा कुस्मा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमाकान्त सापकोटा र जनस्वास्थ्य अधिकृत यमप्रसाद शर्मा लगायतले पनि बोल्नुभएको थियो ।