पर्वतको पैंयु गाउँपालिकाको चौथो गाउँसभा शुरु, टुक्रे योजना न्यूनिकरण गर्न पौडेलको आग्रह - News site from Nepal

पर्वत- दक्षिण पर्वतको पैंयु गाउँपालिकाको चौथो गाउँसभा शुरु भएको छ । आगामी आर्थिक वर्षको निती तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नका लागि गाउँसभा शुरु भएको हो ।
गाउँसभाको पहिलो दिन आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार, कृषि, पर्यटन, सामाजिक विकास, सहकारी, सामाजिक विकासका क्षेत्रमा मुख्य प्राथमिकताका विषयबस्तुलाई समेटेर नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
गाउँसभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेलले गाउँपालिकाको समग्र विकासका लागि टोल टोल बाट संकलन गरि एकीकृत योजनाहरु निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले टुक्रे योजनाहरुलाई पुर्ण रुपमा विस्थापन गरी दिर्घकालीन र ठुला योजनाहरुलाई ध्यान दिन पनि आग्रह गर्नुभयो ।
टुक्रे योजनाले कहिल्यैपनि गाउँपालिकाको विकास हुन नसक्ने बताउँदै पूर्वाधारका योजनाहरु छनौट गर्दा धेरै वडा समेटिने र धेरै नागरिकहरुलाई प्रत्यक्ष फाईदा पुग्ने खालका योजनाहरु समेट्न आग्रह गर्नुभयो । उहाँले गाउँपालिकाको बजेटले सम्पन्न हुन सक्ने योजनाहरु छनौट गर्नुपर्नेमा जोड दिँदै ठुलो योजनाहरुलाई प्रदेश र संघीय सरकारसँग सहकार्य गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष यामकुमारी राना, नेकपाका गाउँपालिका अध्यक्ष चोकलाल न्यौपाने, नेपाली काँग्रेसका डम्बरकुमार प्रधान, गाउँपालिका अध्यक्षका उम्मेदवार मित्रलाल बस्याल, नेकपाका जयनारायण तिवारी, विद्यालय व्यस्थापन समितिहरुबाट गिरीराज गौतम, पैंयु बहुमुखि क्याम्पसका प्रमुख गोपिचन्द्र काफ्ले, विद्यालयहरुको तर्फबाट हिमलाल बस्याल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा स्वागत वडा अध्यक्ष भिमसेन गुरुङ्ग तथा धन्यवाद मन्तव्य गाउँपालिकाका उपाध्यक्ष डम्बरकुमारी गुरुङले गर्नुभएको थियो । गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट भने भोली हुने सभामा प्रस्तुत गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!