पर्वत /पर्वतको महाशिला गाउँपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर कार्यकर्ताको ठुलो समय नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रबेश गरेको छ ।
राष्ट्यि प्रजातन्त्र पार्टी महाशिला वडा नं ३ वडा कमिटी अध्यक्ष भद्रबहादुर हमाल सहित बालाकोटका नेपाली कांग्रेस र राप्रपाका ३० जना भन्दा बढी नेता कार्यकर्ताहरु शनिबार नेकपामा प्रबेश गरेका हुन ।
नेकपा प्रबेश गर्नेहरुमा नेपाली कांग्रेसका कार्यकर्ताहरु रमाकान्त अधिकारी, यामबहादुर भण्डारी, बिरबहारदुर राना, धनबहादुर सिञ्जाली लगायत रहेको महाशिला गाउँपालिकाका वडा नं ३ का अध्यक्ष कर्णप्रताप गुरुङ्ग(रोशन)ले जानकारी दिए ।
नवप्रबेशीहरुलाई नेकपाका नेता तथा महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले टिका लगाएर पार्टी प्रबेश गराएका थिए । उक्त अवसरमा बोल्दै अध्यक्ष पौडेलले नेपालको सम्बृद्धि र नेपालीको मुहारमा खुसी ल्याउने पार्टी नेकपा मात्रै भएको बताउँदै सबैको भ्रमको पार्दा च्यातिदै गएपछि नेकपामा अन्य पार्टीका कार्यकर्ताहरुको ओइरो लाग्ने दाबी गरे । उनले अहिले नेपाली कांग्रेस र बिदेशी राजनैतिक शक्तिहरु नेकपाको सरकारले देश र जनताको पक्षमा काम गर्छ भनेर डराएका कारण सरकारका बिरुद्ध अनावश्यक भ्रम फैलाउने र सकारात्मक कामहरुलाई समेत ओझेलमा पार्ने दुस्साहस गरेको पनि बताए । पाँच बर्षभित्र नेपालको मुहार परिर्वतन भएपछि सबैको भ्रमको खेती अन्त्य हुने बिश्वास अध्यक्ष पौडेलको छ ।
कार्यक्रममा बोल्दै वडा नं ३ का अध्यक्ष कर्णप्रताप गुरुङ्ग रोशनले वालाकोटमा अब कुनै पनि राजनैतिक शक्तिले टाउको उठाउन नसक्ने अवस्था सृजना भएको दाबी गरे ।
युवा संघ नेपाल महाशिलाका अध्यक्ष टिका रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब छबि गैरेले गरेका थिए ।