पर्वत- ‘सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल, ढुंगाको काप फोरेर पनि उम्रिन्छ पिपल’
मानिसको सिर्जनाको प्रशंसा गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेले गरेको यो सिर्जना अहिले पनि निक्कै सम्झिईन्छ । र यो उनको लाईन यसपछि पनि विभिन्न कालखण्डमा सम्झना हुन्छ । अर्थात जब जब नयाँ सिर्जनाहरु हुन थाल्छन् उनको यो कवितांश मानसपटलमा घुमिरहन्छ ।
माधवप्रसाद घिमिरेको कावितांश जस्तै पर्वतको ठुलिपोखरीमा बाबुराम विश्वकर्मा ढुंगाको काप फोरेर उम्रिएका छन् । उनको पारिवारिक अवस्था ढुंगाको काप जस्तै कठीन छ । काम नगरी हातमुख जोर्न धौ धौ हुने भएकाले उनले आफ्नो चाहना अनुसारको जीवन जिउन पाएनन् ।
समस्याग्रस्त पारिवारिक अवस्थाका बाबजुद पनि उनको सिर्जना अहिले पर्वत जिल्लामै चर्चाको विषय बनेको छ । उनले कोदो झार्ने मेसिन बनाएर पर्वतमा चर्चा बटुलेका हुन् । अन्य समुदायमा यो मेसिनले खासै महत्व नराखेपनि कोदो उत्पादन गर्ने किसानमा भने यसको महत्व ठुलो छ । कोदो यसै त दुःखको खेती । त्यसमा पनि बाला टिपिसकेपछि दाना झार्नुको सकस किसानलाई मात्रै थाहा हुन्छ । उले यो सकस आफ्नो घरमा पनि भोगे ।
यही सकसबाट पार पाउन उनले कोदो झार्ने मेसिन बनाए । पर्वतको कुश्मा नगरपालिका – १२ ठुलिपोखरी टुटुंगाका स्थायी बासिन्दा बाबुरामले कोदो ठटाउन हुने दुःख दुर गर्न यस्तो मेसिन बनाएको बताए ।
यो मेसिन उनले कुनै ठुलो विश्वविद्यालयमा अध्ययन गरेर बनाएका होईनन् । उमेरले २८ पुगेका उनले आफ्नै गाँउको सरकारी विद्यालयमा एस.एल.सि. सम्मको अध्ययन गरेका हुन् । उच्च शिक्षा अध्ययन गर्ने चाहना भएपनि दैनिकी चलाउन बिभिन्न काम गर्नुपर्ने बाध्यता भएकाले अध्ययनलाई अगाडि बढाउन नसकेको उनको गुनासो छ ।
उनलाई सानै उमेरदेखी मेसीनरी सामानप्रति रुचि थियो । अरु काममा व्यस्त भएपनि मेसिनरी काम भनेपछि अरु काम नै छोडेर उनी त्यसमा घोत्लिन्थे । यही घोत्लाईको परिणाम अहिले उनले आफ्नै सिर्जनामा एउटा मेसिन तयार पारे ।
उनलाई यो मेसिन बनाउन करीब १ महिना लाग्यो । स्थानीय ठाउँमा पाईने काठ र फलामका औजारहरुको प्रयोग गरी बनाईएको मेसिनमा विद्युतिय मोटर जडान गरिएको छ । विजुलिबाट चल्ने उक्त मेसिनको १ घण्टामा ६ मुरीसम्म कोदो झार्ने क्षमता छ । बाबुआमा संगै खेतिकिसानिमा सहयेग पु¥याउने विश्वकर्माले गाँउमै बसेर यस्तो मेसिन बनाएपछि छिमेकिहरु शुरुमा त आश्चर्यमा परे ।
उनका तीन दाजुभाई छन् । उनी तीन मध्येका माईला हुन् । छोराले गरेको यस्तो कमले आमाबाबु मक्ख छन् ।
जेठो छोरो डोजर चलाउने भयो, कान्छो छोरो जापान गएर प्रगति ग¥यो माइलो छोरालाई दुःख हुने भयो भन्ने पिरमा रहेका बाबुआमाको सोचमा उनले परिवर्तन ल्याईदिएका छन् । विश्वकर्माले गरेको यस्तो कामदेखी दाजुभाई पनि खुसि रहेको बताउादै यहि क्षेत्रबाट नै प्रगतिको पथमा लम्किरहन आँफुहरुको सहयोगमा कमि नआउने बताए ।
गरिब परिवारमा जन्मिएका विश्वकर्मा सिंगो पर्वतको उदाहरण हुन् । सम्बन्धित निकायले सहयोग गरि यो भन्दा माथिल्लो स्तरमा पु¥याउन अनुरोध गर्दै आईरहका उनले आफ्नो अनुरोधलाई चासोको विषयका रुपमा लिईदिन आग्रह गरेका छन् । उनले सानै उमेरदेखी हाउस वायरिङ, घडि–रेडियो मर्मत लगायतका कामहरु पनि गर्छन् ।
करिब ५० हजारको लगानिमा उनले पहिलोपटक यो मेसिन बनाएको भनाई छ । अहिले उनले कोदो झार्ने मेसिन मात्रै बनाएका छन् । लगत्तै उनले कोदोका दाना र भुस छुट्टाउने मेसिन बनाउने बताए ।