पर्वतमा गाउँमै छन् आगामी दसैंलाई खसीबोका - News site from Nepal
पर्वतमा गाउँमै छन् आगामी दसैंलाई खसीबोका

पर्वत-  यस वर्षको दसैं सुरु हुन एक साता मात्रै बाँकी छ । दसैंमा विशेषगरी खसीबोका र च्यांग्राको मासु खाने परम्परा छ । भारतीय बजारका खसीबोका र हिमाली च्यांग्रा पहाडी क्षेत्रका उपभोक्ताका मुख्य स्रोत हुन् ।
जिल्लाका उपभोक्ताले पनि दसैंमा महँगो मूल्यमा मुस्ताङका च्यांग्रा र भारतीय खसीबोका खरिद गर्छन् । बजार क्षेत्रका उपभोक्ता जिल्लाबाहिरका खसीबोकाको खोजी गरिरहेका बेला गाउँका खसीबोकाले भने उचित मूल्य पाउन सकेका छैनन् । विभिन्न गाउँमा व्यावसायिक रूपमै बाख्रापालन गरेका किसान जिउँदो खसीबोका प्रतिकिलो ४ सय रुपैयाँमा बिक्री गरिरहेका छन् । जब कि दसैंको समयमा बजारमा खसीबोका र च्यांग्राको मासुको मूल्य प्रतिकिलो १५ सय रुपैयाँसम्म पर्ने गरेको छ । बजारका उपभोक्ताका अनुसार अघिल्लो वर्ष नै च्यांग्राको मासु प्रतिकिलो १२ देखि १५ सय रुपैयाँ परेको थियो । ‘अहिले भारतबाट खसीबोका ल्याउन नपाइने सुनेको छु,’ कुस्माका ऋषिबहादुर थापाले भने, ‘बजारमा मासुको मूल्य छोइसक्नु नहुने संकेत देखिइसकेको छ ।’

हिन्दु धर्मावलम्बी यतिबेला सोह्र श्राद्धमा छन् । दिवंगत पितृहरूको उद्धारमा लागेकाले अझै एक सातासम्म हिन्दु समाजमा मासुको प्रयोग हुँदैन । ११ असोजपछि सुरु हुने दसैंमा हरेक परिवारमा एक–दुईवटा खसीबोका बाँधेको देखिन्छ । तर, बजारमा महँगो मूल्यमा भेडाच्यांग्रा खरिद गर्ने उपभोक्ता नजिकैका गाउँमा पुगेर दसैंका लागि खसीबोका खरिद गर्नसमेत हिच्किच्याउँछन् । गाउँका किसानले जिल्लाभित्रका उपभोक्ताका लागि बढीमा साढे ४ सय रुपैयाँ प्रतिकिलोमा खसीबोको बिक्री गर्दै आएका छन् । यो मूल्यमा खसीबोका खरिद गर्दा उपभोक्तालाई मासुको मूल्य ६ देखि ७ सय रुपैयाँ प्रतिकिलो पर्छ ।

‘मैले बाख्रा पाल्न थालेको २१ वर्ष भयो,’ भुक–१ का रुद्रबहादुर घलेले भने, ‘अहिलेसम्म गतिलो मोलमा बेच्न पाएकै छैन ।’ एक सय बाख्रा पालेका घलेले बर्सेनि ५० देखि ६० वटासम्म खसीबोका बिक्री गर्दै आएको बताए । घलेको फर्ममै पुग्ने व्यापारीले प्रतिकिलो ३ सयदेखि ४ सय रुपैयाँमा खरिद गर्ने बताउँछन् । ‘बाख्रामा दु:ख धेरै छ,’ घलेले भने, ‘दु:खअनुसारको आम्दानी पाइँदैन ।’ बजारमा १ हजार रुपैयाँ प्र्रतिकिलोमा बिक्री हुने मासु गाउँमा ५ देखि ६ सयमा बिक्री हुन पनि मुस्किल हुने बताए । घलेजस्तै मोदीमा व्यावसायिक रूपमै बाख्रा पाल्ने किसानको संख्या दर्जनौं छ । भुकमा मात्रै लोकमान घले, भक्तिप्रसाद गुरुङ, शेरबहादुर विकलगायतले ५० भन्दा धेरै बाख्रापालन गरेका छन् । पछिल्लो केही वर्षयता कृषि र पशुपालनमा सरकारी क्षेत्रबाट समेत अनुदान पाइन थालेपछि गाउँमा बाख्रापालन फार्म वृद्धि हुने क्रम बढेको छ ।

जिल्लाका पैयुं, महाशिला र बिहादी गाउँपालिकामा व्यावसायिक बाख्रापालन गर्ने किसानको संख्या अधिक छ । पैयुं–२ बेउलीबासमा लामो समय वैदेशिक रोजगारीबाट फर्केका युवाले गाउँमै बृहत् बाख्रा फर्म सञ्चालन गरेका छन् । पालुस्थानका थानप्रसाद भुसाल, जगन्नाथ काफ्ले र नन्दलाल भुसालले ५ वर्षअघि उत्पादनमुखी कृषक समूह गठन गरी सुरु गरेको बाख्रा फर्मले छोटो समयमै उल्लेख्य प्रतिफल दिएको छ । तीनजनाले १५ लाख लगानीबाट सुरु गरेको व्यावसायिक बाख्रा फार्म अहिले गाउँभरि फैलिएको छ । समूहमा आबद्ध ३१ अरू किसानले समूहको सक्रियतामा घरघरै व्यवसायिक रुपमै बाख्रापालन गरेका छन् । ३८ माउ बाख्राबाट सुरु गरेको ‘उत्पादनमुखि बाख्रा फर्म’ मा अहिले सयौं बाख्रा छन् । भौगोलिक हिसावले सदरमुकामबाट सुदुर दक्षिणमा रहेको उत्पादनमुखि बाख्रा फर्म अहिले जिल्लाकै उत्कृष्ठमध्ये पर्छ । तर, यहाँका खसीबोका बजार पुर्‍याउन मुस्किल छ । ‘गोठगोठै खसीबोका छन्,’ स्थानीय थानप्रसाद भुषालले भने, ‘बाहिरबाट ल्याउने मूल्यमा यहिंबाट लगे हामीलाई पनि राम्रै हुन्थ्यो । बजारमा उपभोक्ताले मासु नपाउने, हाम्रो श्रमको मूल्य नपाउने समस्या छ ।’

समुहमा आवद्ध अरु किसानले पनि न्यूनतम ३ देखि १० वटा सम्म माउ बाख्रा पालेका छन् । हरेक महिना समुहको बैठक बसेर पछिल्लो महिना बिक्री गर्ने खसीबोकाको तथ्याङ्क तयार हुनेगरेको छ । यद्यपी गाउँसम्म खुलेको ट्रयाक दसैंको मुखमा परेको अविरल झरीले बिग्रिएका छन् । सडक सहज भए यातायात मार्फत ढुवानी गरेर बजारसम्म खसीबोका पुर्‍याउन सकिने भएपनि यतिबेला गाउँका उत्पादन बजार पुर्‍याउन मुस्किल छ । ‘बाटो बिग्रिएर पैदल हिड्न मुस्किल छ,’ बिहादी–१ बाच्छाका किसान उत्तम परियारले भने, ‘गाउँमा भएका खसीबोका कसरी बजार पुर्‍याउनु ?’ दसैंअगावै गाउँका सडक मर्मत हुन सके गाउँका किसानका खसीबोकाले बजार पाउने किसानहरूको अपेक्षा छ  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!