
पर्वत–पर्वतको महाशीला गाउँपालिकाले भोली आईतवार आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
आइतवार आयोजना गरिएको गाउँपालिकाको छैटौ गाउँसभाबाट झण्डै ३५ करोड बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको हो । जिल्लाका सातवटा गाउँ पालिका मध्ये पहिलोपटक आगामी आर्थिक वर्षको बजेट महाशीलाले सार्वजनिक गर्दै छ । जिल्लामै नमुना काम गर्दै आएको उक्त महाशीलाले यस अघि गाउँ र टोल टोलमा पुगेर योजनाहरु संकलन गरेको थियो । ६ वटै वडाबाट संकलन गरिएका योजनाहरुलाई एकीकृत गरी दिर्घकालीन महत्वका योजनाहरुलाई आगामी बजेटमा समावेश गरिएको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । भोली विहान ११ बजे आयोजना गरिएको गाउँसभामा गाउँपालिकाका सवै जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र संघ संस्थाहरुको सहभागिता रहने गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो ।