
पर्वत– निर्माणाधिन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी करिडोरको पर्वत खण्डको काम लामो समयदेखि अलपत्र बनेको छ ।
करिडोरको पर्वत खण्ड अन्तर्गत फलेबास–अर्मादी खण्ड ठेकेदारको चरम लापरवाहिका कारण अलपत्र बनेको हो । २०७३ साल असार २२ मा सम्झौता भई २०७५ जेठ २१ गते सम्पन्न गर्नुपर्ने भएपनि अझै ३० प्रतिशत भन्दा बढि काम बाँकी रहेको छ । सम्झौता अवधि सकिएको डेढ वर्षसम्म पनि सडकको काम अलपत्र बनेको हो । ठेकेदारको लापरवाहिका कारण काम सम्पन्न हुन नसकेको पाईएको छ । ९ करोड १७ लाख ४९ हजार २ सय ४५ रुपैयाको लागतमा निर्माण हुन लागेको उक्त खण्डको फलेवास ढिकदेखि मोदीवेणी सम्म ट्र्याक खुलेपनि सवारी साधन चल्ने अवस्था छैन । भने मोदीवेणीदेखि अर्मादीसम्मको तीन किलोमिटर ट्याक खोल्न बाँकी रहको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ ।
उक्त खण्डको स्तरोन्नतीको जिम्मा पाएको सुर्य कन्ट्रक्सन प्रालि सुकेधारा काठमाण्डौको ढिलासुस्तीका कारण सम्झौता अवधि नाघेको डेढ वर्षसमम पनि काम सम्पन्न नगरेको कार्यालयले जानकारी दिएको छ । कार्यालयले पटक पटक ताकेता गर्दापनि निर्माण व्यावसायीले काम शुरु नगरेपछि २०७६ साल जेठ ४ गते १० प्रतिशत जरिवाना सहित म्याद थप गरिएको हो । प्रति दिन ४५ हजार ९ सय रुपैयाका दरले जरिवाना लगाएर म्याद थप गरेको चार महिना वितिसकेपनि अझै काम सुचारु नगरेको कार्यालयले जनाएको छ ।
उक्त खण्ड १४ किलोमिटर रहेको छ । कार्यालयले ट्राक खोल्ने, ग्राभेल गर्ने र कल्भर्ट तथा टेवा पर्खाल लगायतको काम गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले अहिलेसम्म झण्डै ६ करोड रुपैया भुक्तानी लगिसकेको छ । भने तीन करोड १७ लाख रुपैया भुक्तानी हुन पनि बाँकी रहेको कार्यालयले जनाएको छ ।
पटक पटक पत्राचार गर्दापनि काम शुरु नगरेको आयोजना प्रमुख नगेन्द्र सुुवेदीले जानकारी दिए । उनका अनुसार दैनिकजसो ठेकेदारलाई सम्पर्क गरेर काम शुरु गर्न ताकेता गरेको भएपनि बेवास्ता गरेको बताए । उनले अझै पनि आफुले पहल गरिरहेको बताउँदै अब पनि शुरु नगरे कानून बमोजिम कारवाहि गरिने बताएका छन् । उनले भने–‘हामीले निरन्तर सुर्य कन्ट्रसनका संचालक सुर्यबहादुर खड्कालाई सम्पर्क गरेर काम सुचारु गर्न दबाब दिईरहेका छौ, तर अहिलेसम्म शुरु गरेको छैन ।’ अब अन्तिम पटक चेतावनी दिईने र उक्त कम्पनीले काम नगरे ठेक्का सम्झौता रद्ध गरिने उनले बताए । म्याद गप गरेपछि साउन, भदौ, असोज भित्र काम गर्छु भनेर लिखित प्रतिवद्धता जनाएपनि अहिलेसम्म शुरु नगरेको आयोजना प्रमुख सुवेदीको भनाई छ ।
यता सुर्य कन्ट्रक्सनका संचालक सुर्यबहादुर खड्काले विभिन्न समस्याका कारण केहि समय ढिलाई भएको बताउँदै आगामी पुस १५ गतेभित्र काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् । वर्षायाम भएकाले काम सुचारु गर्न सकेका छैनौ उनले भने अब केहि पहरा कटान गरेर ट्राक खोल्ने काम र ग्राभेलिङको काम मात्र बाँकी रहेकाले तीन महिना भित्र सम्पन्न हुने दावी गरे । हाम्रा निर्माण उपकरणहरु साईडमै छन् उनले भने–‘अहिले वर्खा लागेर काम भएको छैन आगामी पुस १५ भित्र काम सक्छौ ।’ राष्ट्रिय गौरबको योजना लामो समयदेखि अलपत्र परेको भन्दै चौतर्फी आलोचना भैरहेका बेला ठेकेदारले तीन महिनाभित्र काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको हो ।
उता कालीगण्डकी करिडोर आयोजनाको कार्यालय पाल्पाले ठेकेदारले काम गर्छु गर्छु भनेको तर अझै वेवास्ता गरेकाले पत्रिकामा सूचनानै जारी गरेर कारवाहिको प्रकृया अघि बढाउन लागेको बताएको छ ।
कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटर भन्दा बढी भाग पर्छ । यसले पर्वतको उत्तर देखि दक्षिण सम्म छिचोल्ने भएका कारण यसलाई राष्ट्रिय गौरबको योजनाका साथै पर्वतको लाईफलाईनको रुपमा हेरिदैँ आइएको छ । पछिल्लो समय सेतीबेणी देखि रानीपानी सम्म कालोपत्रे गर्नका लागि अर्थ मन्त्रालयले बजेट सहमति दिएको छ भने रानीपानी देखि फलेबास सम्म स्तरउन्नतीको काम ७० प्रतिशत पुरा भएको छ ।
करिडोरको पर्वत खण्डमा पर्ने मोदीखोला, लमायखोला, सेतीखोला र आँधीखोलामा समेत पुल निर्माणको काम पनि भैरहेको छ । यो समाचार धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशीत भएको छ ।
यसैबीच अलपत्र अवस्थामा रहेको उक्त सडकका कारण मोदीवेणी घाटमा शब दाहसंस्कारका लागि जाने मलामीहरु समस्यामा परेका छन् । सडकले पुरानो पैदल बाटो पुरिदिएका कारण जोखिम मोलेर घाटमा जानुपर्ने अवस्था रहेको छ । उक्त घाटनमा दैनिक आधादर्जनको हाराहारीमा विभिन्न ठाउँबाट शब दाहसंस्कारका लागि ल्याउने गर्दछन्् ।
उक्त सडकको केहि समय अघि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले अवलोकन गर्दै समयमै सम्पन्न गर्न आग्रह पनि गरेका थिए ।