
पर्वत– हप्तामा ६ दिन मात्रै खुल्ने पर्वत सदरमुकाम कुश्माबजार आजदेखि भने सातै दिन खुल्ने भएको छ ।
पर्वत उद्योग बाणिज्य संघको आव्हानमा प्रत्येक शनिवार बजारका सवैजसो व्यापार, व्यावासय बन्द हुँदै आएका थिए । नजिकिदै आएको नेपालीहरुका महान पर्व दशै र तिहार जस्ता चाडवाडलाई केन्द्रित गर्दै शनिवार पनि बजार खुल्लै राख्ने निर्णय भएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो ।
शर्माका अनुसार असोज ४ गतेदेखि लागु हुने गरी कात्तिक ९ गते शनिवारसम्म सातै दिन बजार खुला हुने भएको छ । चाडवाडको बेला नागरिकहरुले उपभोग्यीय बस्तुहरु बढि खरिद गर्नुपर्ने, टाढा टाढाका सर्वसाधारण नागरिकहरु पनि समय अनुकुल मिलाएर सदरमुकाममै आएर किनमेल गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै बजार खुल्लै राख्ने निर्णय गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
यसैगरी साथै बिजयादशमी तथा सुभदिपावली छठपर्व २०७६ को अवसरमा सम्पूर्ण उद्योगी,व्यवसायीहरुले आ–आफनोे पसलमा छुटको व्यहोरा उल्लेख गरिएको व्यानर र मुल्य सुची टासँ गरि आ–आफनो दैनिक उपभोग्य सामाग्री अनुसार उपभोक्ताहरुलाई २ देखि १० प्रतिशतसम्म छुट दिन पनि संघले आवहान गरेको छ ।
अबदेखि शनिवारको दिन पनि आवश्यक सामाग्रीहरु खरिद गर्न पाईने भएको छ । यस अघि ब्यावसायीहरुलाई साताभरी गरेको व्यापार व्यावसायको अभिलेख राख्न, पसल सरसफाई गर्न र शनिवारको दिन ब्यावसायमै भन्दा अन्य पारिबारीक तथा सामाजिक क्षेत्रमा लाग्न सहज होस् भन्ने उद्धेश्यले शनिवार बन्द गराउँदै आएको थियो । हिउँदका समयमा सवैजसो गाउँमा सवारीका साधनको सहज पहुँच हुने र गाउँमै पनि उपभोग्यीय बस्तु सदरमुकामकै मुल्यमा पाईने भएपनि अहिले अधिकांस सडकहरु बन्द भएका कारण ग्रामीण क्षेत्रका बासिन्दाहरु पनि किनमेलका लागि सदरमुकामनै आउनुपर्ने बाध्यता रहेको छ ।