
पोखरा- पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोक नजिकको सडकमा शनिवार विहान बम भेटिएको छ । सडक छेउमा विहान साढे सात बजे स्थानीयले बम देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए ।
कागजको गोलो प्याकेटमा टेपले बेरेर राखिएको अवस्थामा बम भेटिएपछि विजयपुर ब्यारेकबाट आएको नेपाली सेनाको प्राविधिक टोलीले निष्क्रिय पारेको छ ।
सडक छेउमा बम भेटिएपछि सर्वसाधारणलाई क्षति नहोस् भनेर उक्त बम राखिएको क्षेत्रलाई नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा घेरामा राखेको थियो । बम नेपाली सेनाको प्राविधिक टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी रबिन्द्र मान गुरुङले बताए ।
वैशाख ५ गते विप्लव समूहले घोषणा गरेको बन्दका दिन सोही स्थानको ५० मिटर पूर्वको सडक छेउमा बम राखिएको थियो । उक्त बम विप्लव समूहले नै राखेको हुन सक्ने आशंका कास्की प्रहरीको छ ।
वैशाख ५ गतेकै दिन प्रतिबन्धित विप्लव समूहले घोषणा गरेको बन्दका दिन गण्डकी प्रदेश सभा भवन नजिकै राखिएको बम निश्क्रिय पार्ने क्रममा नेपाली सेनाका नायक धर्मबहादुर थापा घाइते भएका थिए । घाइते थापालाई तत्कालै उपचारको लागि काठमाडौं लगिएको थियो ।