पर्वत । पर्वतको कुस्मा नगरपालिका वडा नं १ देखि जलजला गाउँपालिकाको बनौ जोड्ने पाङ -टार -ततरकोट-बनौ सडक कालोपत्रे शुरु भएको छ ।
सडकको कुश्मा -१ पाङमा आयोजित एक कार्यक्रमका बिच प्रतिनिधीसभाका सदस्य पदम गिरीले कालोपत्रे गर्ने कार्यको शुभारम्भ गरेका हुन ।
सडक कालोपत्रे गर्ने कार्यक्रममा बोल्दै प्रतिनिधीसभाका सदस्य गिरील्े विगत लामो समय देखि नेपाली कांग्रेसलाई मतदान गर्दै आएका स्थानीयले लामो समय पछि कम्युनिष्ट उमेदवारलागि मत दिएकोले सबै पार्टीका आस्थावान कार्यकर्ताले मलाई दिएको मतको सधै सम्मान गर्ने बताए । गिरीले निर्वाचन पूर्व कुनै पार्टीको नेता भएपनि निर्वाचन पछि आफू सवैको साझा ब्यक्ति भएकाले सवै जनताको पक्षमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
उनले गाउँको विकास र परिर्वतनका लागि पाङबासीले दिएको मतको सम्मान गर्दै यो क्षेत्रको विकासमा आफूले दिनरात मेहनत गरीरहेको उल्लेख गरे । सांसद गिरीले रकम अपुग हुँदा सडक कालोपत्रेका लागि थप रकम जुटाउन आफूले अझै धेरै प्रयास गर्ने कार्यक्रमको अवसरमा प्रतिबद्धता ब्यक्त गरे ।
सडक कालोपत्रेको शुभारम्भ कार्यक्रकमा कुश्मा नगरपालिका वडा न १ पाङका वडा अध्यक्ष देवेन्द्र सुवेदीले साँसदको पहल र मेहनतको फल पाङबासीले केहि बर्षमै प्राप्त गर्ने विश्वास ब्यक्त गरे । उनले पाङ क्षेत्रको विकासका लागि सांसदले गरेको पहल र प्रयासको सवै पाङबासीले प्रशंसा गरेको समेत बताए ।
प्रदेश सरकारको चालु बर्षमा १ करोड र केन्द्रिय सरकारको चालु बर्षमा ३ करोड गरी कुल ४ करोड रुपंयाको लागतमा सडक कालोपत्रेको काम थालिएको छ । सह्रसधारा देखि पाङको कुनाचौरसम्मको केहि खण्ड सडक कालोपत्रे भएपनि पाङको कुना चौर देखि टार–ततरकोट देखि बनौसम्मको सडक कच्चि छ । सडकको झण्डै ३ किलोमिटर सडक चालु आर्थिक बर्षमा नै पक्कि बनाउने लक्ष्य राखिएको छ ।