नेकपाको एक वर्ष : जनवर्गीय संगठनको एकता घोषणा आज, पोलिटब्युरोको आइतबार - News site from Nepal

काठमाण्डाै – तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएको शुक्रबार एक वर्ष पूरा भएको छ । गएको वर्ष दुई पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी नेकपा घोषणा गरिएको हो । 
माथिल्लो तहमा एकता भए पनि तल्लो तहमा भने अझै पनि एकता टुंगोमा पुगेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले नेकपामा २२ जनवर्गीय संगठनमध्ये धेरैजसोको भागबन्डाको टुंगो लगाएको छ । जनवर्गीय संगठनका सबै नाम टुंगो लगाएर घोषणा गर्ने तयारी छ । 
विद्यार्थी संगठनको संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङ तोकिएका छन् । 
युवा संगठनमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ संयोजक र रमेश पौडेल सहसंयोजक तोकिएका छन् । दीपशिखा तत्कालीन माओवादीको वाईसीएलका अध्यक्ष हुन् ।  
महिला संगठनको संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेल तथा मजदुर संगठनको संयोजकमा विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा तोकिएका छन् ।  
प्रवासी नेपाली मञ्च भारतको संयोजकमा लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारीको नाममा सहमति जुटाइएको छ । प्रेसमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक, तथा बुद्धिजीवीतर्फ दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक तोकिएका छन् ।
यस्तै पेशागत महासंघमा विश्वनाथ प्याकुरेल संयोजक र दयाराम बस्याल सहसंयोजक तथा जनसांस्कृतिक महासंघमा खगेन्द्र राई संयोजक र सरल सहयात्री सहसंयोजकमा सहमति जुटेको छ । 
यसैगरी मुस्लिम संगठनमा सराज महमद फारुकी संयोजक र अत्तहर हुसेन फारुकी सहसंयोजक तथा दलितमा तिलक परियार संयोजक र ओमबहादुर विश्वकर्माको नाममा सहमति जुटेको छ ।
यस्तै भूपू सुरक्षाकर्मीको संगठनमा धनबहादुर चन्द संयोजक हुने भएका छन् भने सहसंयोजकको नाममा सहमति भएको छैन ।  
पोलिटब्युरो आइतबार
नेकपाले पार्टी पोलिटब्युरो सदस्यको नाम र केन्द्रीय सदस्यको कार्यविभाजन आइतबार टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालय बैठकले अन्तिम निर्णय गर्न नसकेपछि जेठ ५ लाई सारिएको हो । 
गएको वर्ष जेठ ३ गते नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)बीच एकता भएपछि यसअघि नै पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्य तथा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्यको मात्र टुङ्गो लगाइएको छ । यसअघि इञ्जिनीयर, कानून व्यवसायी र निर्माण व्यवसायी सङ्गठनको एकता भइसके पनि अन्यको बाँकी रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!