
पर्वत / मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा– बागलुङ्ग खण्ड स्तरउन्नतीको काम निर्माण सामाग्रीको अभाब र बेमौसमी बर्षाका कारण प्रभावित बनेको छ ।
लोकमार्गको पर्वत खण्डमा निर्माण कार्य सुस्त भएको छ भने लुम्ले खण्डमा निर्माण सामाग्रीको अभाबमा कालोपत्रे गर्ने काम नै रोकिएको हो ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यस सडक खण्डमा यस आर्थिक वर्षसम्ममा ७० प्रतिशत काम गर्ने लक्ष्य लिएको थियो । पर्वत र कास्कीको सिमाना नयाँपुल देखि कास्कीको फेदी खण्डमा निर्माण सामाग्रीको अभाब भएपछि निर्माण कार्य बुधबार देखि रोकिएको छ ।
पर्वतको कुस्मा र कास्कीको हेम्जामा खानेपानीका पाइप तथा बिद्युतका पोल स्थानान्तरण गर्न समस्या भएपछि सोचे अनुसारको प्रगति हुन नसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । नयाँपुल देखि फेदी खण्ड निर्माण गरिरहेको श्रेष्ठ÷दिवा÷एपेक्स जेभिले दिएको जानकारी अनुसार कास्कीको अन्नपुर्ण गाउँपालिकामा पर्ने लुम्लेको ढावामा निर्माण सामाग्री निकाल्न वन कार्यालयले रोकेपछि निर्माण सामाग्रीको अभाब भएको छ। अहिले सम्म ६ किलोमिटर भन्दा बढी सडक कालोपत्रेका लागि बेस बिच्छाएर तयार पारेको तर थप ६ किलोमिटर कालोपत्रे गर्न निर्माण सामाग्रीको अभाब भएको छ । ‘हामी असार अगावै १२ किलोमिटर भन्दा बढी सडक कालोपत्रे गर्ने लक्ष्यमा थियौ’ कम्पनीका साइड इन्चार्ज काशीराज बोहराले भन्नुभयो ‘न कुटेको ढुंगा छ, न कुट्नका लागि ढुंगा नै पाइन्छ’ उहाँले भन्नुभयो ‘द्रुत गतिमा काम भैरहेको अवस्थामा निर्माण सामाग्रीको अभाब भएपछि दुई दिन देखि काम नै स्थगित गरेका छौ’ उक्त खण्डमा अहिले सम्म स्टक्चरको काम करिब सकिएका कारण पिच गर्ने कार्य मात्रै बाँकी छ । निर्माण सामाग्री सहज भएको अबस्थामा आगामी बर्षको य हिउँदमै सबै काम सक्ने लक्ष्य रहेको साइड इन्र्चाज बोहराले बताउनुभयो ।

निर्माण कम्पनी गाउँपालिकाको स्विकृतिमा स्थानिय वन क्षेत्रबाट
ढुंगा उत्खनन गरेको थियो । उक्त स्थानमा वडा कार्यालय भवन वा खेलमैदान
बनाउने सहमति र गाउँपालिकालाई कर समेत बुझाएर ढुंगा उत्खनन हुँदै आएकोमा सव
वन डिभीजन ढिकुरपोखरीले वन क्षेत्रबाट उत्खनन रोक्न पत्र थमाएको छ ।
राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरुलाई निर्माणस्थल वरपर नै निर्माण
सामाग्रीको ब्यबस्थापन गर्न कार्यादेश दिइएको हुन्छ । उक्त खण्डमा अन्यत्र
सामाग्री निकाल्ने स्थान नभएका कारण वन क्षेत्रमा असर नपर्ने गरि उत्खनन
गर्न पहल भैरहेको मध्यपहाडी लोकमार्ग आयोजना पर्वतका प्रमुख आशिष थापा
मगरले बताउनुभयो । ‘निर्माण सामाग्री अभाबमा काम रोकिने अबस्था आएपछि
गाउँपालिका र गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
संग समन्वय गर्ने काम भैरहेको छ’ उहाँले भन्नुभयो ‘छिट्टै समस्याको हल गरेर
निर्माण कार्य अगाडी बढाउँछौ’
कम्पनीले पर्वत खण्डमा पर्ने
अंधेरीखोलाको भीरमा निर्माण सामाग्री निकाल्ने प्रयास गरेपछि कडा चट्टान
फोड्न नसकिएका कारण बम बिष्फोट गराउनुपर्ने अबस्था आएको छ । बिष्फोटन
गर्नका लागि जिल्ला सुरक्षा समिति संग स्विकृति लिएर प्रकृया अगाडी
बढिरहेको छ ।
मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ्ग खण्ड २०७४ चैत
महिनादेखि स्तरोन्नतिको काम शुरु भएको थियो । पर्वत खण्डमा हालसम्म ५५
प्रतिशत भौतिक प्रगति भएको छ । प्रतिकुल मौषम र कुस्मा, डिमुवा, पातीचौर
क्षेत्रमा खानेपानीका पाइप र बिद्युतका पोल स्थानान्तरण समयमा हुन नसकेका
कारण निर्माण कार्य ढिलाई भैरहेको छ । पर्वत खण्डमा निर्माण सामाग्रीको भने
अभाब छैन । लोकमार्ग अन्तर्गत पर्वतको अँधेरीखोलादेखि मालढुंगासम्मको २४
किलोमिटरमा असार सम्ममा मालढुंगा देखि जिल्ला प्रहरी कार्यालय पर्वत सम्म ८
किलोमिटर सडक कालोपत्रे गरि सक्ने लक्ष्यका साथ काम भैरहेको छ ।
खानेपानीका पाइप र बिद्युतका पोल ब्यबस्थापन भएपछि यस खण्डमा पनि निर्माण
कार्य तीब्र पार्न सकिने लामा कन्ट्रक्सनका साइड इन्र्चाज गोबिन्द भुसालले
बताउनुभयो । ‘कुश्मावजारमा बिजुलीका पोल र खानेपानीको पाइपका कारण सडक
विस्तारका लागि डोजर लगाउन समस्या भएको छ । ’ उहाँले भन्नुभयो ‘पोल र
पाईपको व्यवस्थापन गरे सदरमुकाम भित्रको सडकमा कालोपत्रे गर्न सक्छ’
स्टक्चरको काम ८० प्रतिशत भन्दा बढी सकिएको छ । केही भागमा पहरो काट्न र
नाली बनाउने काम बाँकी रहेको उहाँको भनाई छ ।
आयोजना प्रमुख थापा
मगरले कुस्माबजारको खानेपानीको पाइपलाइन स्थानान्तरणको काम आयोजनाले नै
गरिदिने र पोल स्थानान्तरणको स्टिमेट नआएका कारण निर्णय हुन बाँकी रहेको
बताउनुभयो । उहाँले निर्माण कार्यमा देखिएका अबरोधहरु हटाएर यसलाई सुचारु
गरि सम्झौता भन्दा अगावै सम्पन्न गरिने बिश्वास समेत ब्यक्त गर्नुभयो ।