यस्तो आयो कुश्मा नगरपालिकाको विज्ञप्ती, यथार्थ बुझेर मात्र समाचार लेख्न आग्रह - News site from Nepal

पर्वत– पछिल्ला केहि दिन यता विभिन्न सञ्चारमाद्याममा नगरपालिकालाई जोडेर आएका समाचारप्रति कुस्मा नगरपालिकाको कार्यालयले ध्यानाकर्षण गराएको छ ।
कुस्मा नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार लामिछानेले बिज्ञप्ती प्रकाशित गर्दै नगरपालिकाको यथार्थतालाई बुझेर समाचाहरु प्रकाशन प्रशारण गरिदिन आग्रह गरेका छन् । उनले भ्रमपुर्ण समाचारले नगरवासीहरुलाई अन्योलमा पार्ने भन्दै जिम्मेवार हुन समेत सुझाएका छन् । विज्ञप्तीमा नगरपालिकाको असुल गर्नुपर्ने बेरुजु २ लाख ६९ हजार मात्रै भएको बताईएको छ ।
नगरपालिकामा गत बर्ष ३ करोड ९ लाख ७५ हजार बेरुजु रहेको र बिभिन्न आर्थिक अनियमिमता भएको समाचार सार्वजनिक भएपछि नगरपालिकाले बिज्ञप्ती प्रकाशित गरेर असुल गर्नुपर्ने खुद बेरुजु रकम न्युन भएको दाबी गरेको हो । बिज्ञप्तीमा नगरपालिकाको गत आर्थिक बर्षको बजे ६३ करोड मात्रै भएको र बजेट १ अर्व २० करोड १७ लाख भनिएको सुचना गलत भएको समेत उल्लेख छ । हरेक वडा कार्यालयहरुलाई १÷१ वटा उपलब्ध गराएको र निर्णय अनुसार इन्धन उपलब्ध गराइएको दाबी गरिएको छ । मोटरसाइकल, इन्धन, भत्ता र खाजा खर्चमा नगरपालिकामा ठुलो रकम खर्च भएको समाचार प्रकाशित र प्रसारित भएका थिए ।
बिज्ञप्तीमा नगरपालिकामा अपारदर्शी रुपमा र मनोमानी किसिमले कुनै पनि कार्यहरु नभएको उल्लेख छ । गत असार १० मा शुरु भई असार १३ मा सम्पन्न नगर सभाले पास गरेका योजनाहरु नै नियमानुसार कार्यान्वयनमा लगिएको बताइएको छ । ‘कानुनत रु. १ करोड सम्मका योजनाहरु उपभोक्ता समितिवाट गर्न सकिने भएतापनि कतिपय योजना तथा कार्यक्रमहरु ठेक्का पट्टा वाट समेत कार्यान्वयनमा लगिएको अवस्था छ ’बिज्ञप्तीमा भनिएको छ ‘ उक्त योजनाहरु नगर कार्यपालिकाको वैठकवाट आम सहमतिमा निर्णय भई सभावाट पारित गराई कार्यान्वयनमा लगिएको छ ।’
प्रमुख प्रशासकीय अधिकृत लामिछानेद्वारा जारी बिज्ञप्तीमा लक्षित तर्फ छुट्टै विनियोजित रकम निश्चित कार्यक्रमहरुमा वाँडफाँड गरि सिफारिस गर्न गत आ.व.को हकमा उपप्रमूखको संयोजकत्वमा २ जना वडा अध्यक्षहरु (महिला) सहित समावेशी कोटावाट निर्वाचित सम्पूर्ण कार्यपालिकाका सदस्यहरुलाई जिम्मा दिएको भएता पनि यस आ.व.मा त्यस्तो निर्णय नभएको उल्ल्ेख छ । ‘लक्षित तर्फको कार्यक्रम ल्याउन पटक पटक अनुरोध गरिरहँदा पनि नआएपछी योजना किताव पनि ढिला गरि तयार गरिएको र त्यो पनि उक्त वजेट वाँडफाँड नगरि नै ल्याउन परेको तितो यथार्थताले गर्दा गत वैसाख २ गतेको सभामा सहमतिमै लक्षित वर्ग भित्रका सदस्यहरुको समिति वनाई जिम्मा दिने निर्णय भएको हो ।’ बिज्ञप्तीमा भनिएको छ । नगरपालिकाकी उपप्रमुख सिता शर्मा लामिछानेले आफुँलाई संयोजकबाट हटाएको बिषयमा असन्तुष्टि जनाउँदै नगरसभा बहिष्कार गरेकी थिएन । ‘एउटा जिम्मेवार पदाधिकारीले विना आधार नगरसभा वहिस्कार गर्नु र सभा सकिएपछि सभाहल भित्र प्रवेश गरि नोट अफ डिसेन्ट लेख्नु कति सम्म गैर जिम्मेवारी हो भन्ने कुरामा थप केही भनीरहनु नपर्ला ।’ बिज्ञप्तीमा भनिएको छ ‘कुश्मा नगरपालिकामा आज सम्म कुनै पनि निर्णय अल्ममतरवहुमतवाट नभई सर्वसहमत भएको अवस्था हो ।’
प्रमुख प्रशासकीय अधिकृत लामिछानेको गृह मन्त्रालयमा सरुवा भएको छ । उनले आफ्नो १८ महिने कार्यकालमा साँघुरो भाडाको घरमा रहेर कर्मचारीहरुले जुन जिम्मेवारी वोधका साथ आफ्नो जिम्मेवारी सम्पादन गरिरहेको उल्लेख गर्दै त्यसमा कर्मचारीहरु धन्यवादका पात्र भएको उल्लेख गरेका छन । सकभर सरकारी भवनमै कार्यालय ब्यवस्थापन गर्ने सोचका साथ अगाडी वढ्ने प्रयास गरिएको भएता पनि सरकारी भवन उपलब्ध हुन नसकेपछी नयाँ भाडाको भवनमा कार्यालय सार्ने कार्य प्रकृयामा रहेको उल्लेख गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!