
पर्वत– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले फोहोर व्यवस्थापन गर्ने विषय मुलुककै चुनौतीको रुपमा रहेको बताएका छन् ।
पर्वतको कुश्मा नगरपालिकाले मंगलवार आयोजना गरेको अत्याधुनिक प्रविधिवाट फोहोरमैला व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै तिमिल्सिनाले हेर्दा सानो कुरा जस्तो लाग्ने तर व्यवस्थापनमा निकै झण्झटिलो र चुनौती रहेको बताए । अहिलेपनि नेपालका ठुला र व्यवस्थित शहरहरुमा फोहोरको उचित व्यवस्थापन हुन नसक्दा दुर्गन्धित बन्दै गएको बताए ।
राज्यले धेरै मेहनत गरेपनि यो चुनौतीको विषयनै बन्दै गएको बताउँदै फोहोरको दिर्घकालीन विकासका लागि सवैको ध्यान जानुपर्नेमा उहाँले जोड दिए । उनले प्रत्येक सचेत नागरिकहरु फोहोरले मानविय स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ भन्ने कुरामा सचेत हुने हो भने यसको व्यवस्थापन गर्न सहज हुने बताए । उनले भने–‘त्यहि व्यक्ति जो विदेशमा जान्छ उ फोहोर प्रति सचेत हुन्छ, जव नेपाल फर्किन्छ विमानस्थलबाटै फोहोर गर्न शुरु गर्छ’ यस्तो प्रवृत्तिको अन्त्य नभए सम्म कुनैपनि ठाउँ सफा हुन सक्दैन ।
तिमिल्सिनाले घरवाटै फोहोरको सुरुवात गर्नुपर्ने बताए । पहिला जनप्रतिनिधिले आफ्नै घरवाट शुरु गरौ, त्यसपछि सरकारी तथा सार्वजनिक क्षेत्रवाट सरसफाईको शुरुवात गर्नुपर्ने बताए । उनले प्रत्येक वडालाई सरसफाईमा प्रतिस्पर्धा गर्न समेत आग्रह गरे । तिमिल्सिनाले कुश्मा नगरपालिकाको फोहोर व्यवस्थापनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेलले कुहिने फोहोर भन्दा पनि नकुहिने फोहोर व्यवस्थापन बढि चुनौतीपुर्ण बनेको बताए ।
सो अवसरमा रुपन्देहिको देवदह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्री, लुम्विनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेल लगायतले आ–आफ्नो नगरपालिकामा एकीकृत रुपमा फोहोरमैला व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए ।
सो अवसरमा गैह्रआवासीय नेपाली संघका पूर्व सल्लाहाकार तथा लुम्विनी बुद्ध फाउण्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले यस क्षेत्रमा एकीकृत फोहोरमैला व्यवस्थापन योजना अघि बढाउनुपर्ने बताए । उनले यसका एनआरएनए ले स्पेनको मड्रिड नगरपालिकासँगको सहकार्यमा व्यवस्थापन गर्नका लागि सहयोग आदानप्रदानमा सहयोग गर्ने बताए ।
कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले कुश्माको अत्याधुनिक प्रविधिवाट फोहोर व्यवस्थापन गर्न डिपीआर निर्माण थाल्ने वताए । उनले छिमकी नगरपालिकाहरु समेत सक्रिय सवै सवैको एकीकृत रुपमा अन्यथा कुश्माको मात्रै डिपीआर बनाएर काम अघि बढाउने बताए । नगरप्रमुख जोशीले कुश्मा नगरपालिकालाई सुन्दर र समृद्ध नगर बनाउनका लागि सवै पक्षसँग सहकार्य गर्न तयार र रहेको बताए ।
कार्यक्रममा स्वागत कुश्मा नगरपालिकाका नगर उपप्रमुख सिता काफ्ले लामिछाने र संचालन सुचना अधिकारी ध्रुवराज शर्माले गरेका थिए ।
यस अघि सिक्रेड नेपालका टिकाराम भुसाल र अन्य प्राविधिकहरुले फोहोर व्यवस्थापनबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।