
पर्वत– पर्वतको जलजला गाउँपालिका र अमेरिकास्थित जर्जिया राज्यको एटलान्टा नगरपालिकाबिच भगिनी सम्बन्ध गाँसिने भएको छ । एटलान्टामा भएको स्मार्ट सिटी एक्स्प्रोमा भाग लिन गएका जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले त्यहाँका मेयरसँग त्यहाँको विकास निर्माण र जलजलाको विकास निर्माणको अवस्थाको बारेमा आदानप्रदान गर्दै भगिनी सम्बन्ध गाँस्ने तयारी भएको हो ।
अध्यक्ष मल्लले सिटी अफ एटलान्टाका मेयर किसा लेन्स बतम्सलाई जलजला गाउँपालिकाको निमन्त्रणापत्र प्रदान गरेको जानकारी दिए । निमन्त्रणापत्र स्वीकार गर्दै मेयर बतम्सले छिट्टै नेपाल आएर जलजलाको भ्रमण गर्ने प्रतिबद्धता जनाएको मल्लले बताए । ‘एटलान्टाका मेयरलाई नेपालको झण्डा उपहार प्रदान गर्दै जलजलाको भ्रमणका लागि आउन निमन्त्रणापत्र प्रदान गरे, उहाँले छिट्टै नेपाल आएर जलजला गाउँपालिका घुम्ने प्रतिबद्धता जनाउनुभयो’ अध्यक्ष मल्लले भने ।
मल्ल अमेरिकाको जर्जियास्थित सिटी अफ एटलान्टा नगरपालिकाले सेप्टेम्बर ११ देखि १३ सम्म आयोजना गरेको स्मार्टसिटी सम्बन्धी सम्मेलनमा भाग लिन भदौ २२ गते त्यसतर्फ प्रस्थान गरेका थिए । मल्लले विभिन्न मुलुकका प्रतिनिधिले त्यस मुलुकमा गरेका कामको अनुभव आदानप्रदान र छलफल गरेको बताए । स्मार्टसिटी सम्मेलन सम्पन्न भएपछि मल्लले त्यहाँको विकास निर्माणको प्रत्यक्ष अवलोकन गरेका थिए । एटलान्टापछि मल्ल बाल्टीमोर पुगेका छन् । नेपाली काँग्रेस पर्वतका कोषाध्यक्षसमेत रहेका मल्लले अमेरिकामा विभिन्न पेशा, ब्यावसायमा रहेका नेपालीहरु, गैरआवासिय नेपाली संघ, पर्वत समाज, जनसम्पर्क समितिलगायतका संघसंस्थासँग भेटघाट तथा छलफल गर्नेसमेत जानकारी दिए ।