
माधब पराजुली ,पोखरा
गण्डकी प्रदेश सरकारले ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार बराबरको बजेट ल्याएको छ । आईतवार आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशसभा बैठकमा चालु खर्चतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार बराबरको बजेट पेश गर्नुभयो ।
कुल बजेटमा पुँजिगततर्फ बिनियोजित रकम करिब ६२ प्रतिशत र चालु खर्चतर्फ ३८ प्रतिशत रहेको छ ।
आगामी आर्थिक बर्षका लागि अनुमान गरिएको खर्च व्योहोर्ने स्रोतमध्ये नेपाल सरकार बाट प्राप्त हुने समानीकरण अनुदान रु.७ अर्ब ११ करोड २२ लाख,सर्शत अनुदान रु. ५ अर्ब ३५ करोड १६ लाख,समपूरक अनुदान ७५ करोड,बिशेष अनुदान ७५ करोड,राजस्व बाँडफाँड बाट प्राप्त हुने ७ अर्ब ७० करोड ५१ लख,रोयल्टि बपत प्राप्त हुने ४० करोड र आन्तरिक राजस्वबाट ३ अर्ब २७ करोड ७५ लाख तथा चालू आ.व.बाट खर्च नभई बाँकी रहन जाने अनुमानित ४ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।
सरकारले समृद्ध प्रदेश निर्माणका आधारहरु पर्यटन,उर्जा,कृषि,उद्योग,पूर्वाधार,सिर्जनशिल मानव पुँजी निर्माण तथा विकास र सुशासन भएको बजेटमा उल्लेख गरेको छ ।
गण्डकी प्रदेश सरकारले प्रदेशसभा सदस्यहरुलाई निर्वाचन पूर्वाधार विकास कार्यक्रममार्फत दुई करोड रुपैयाँ समेत दिने भएको छ ।
कुल बजेटमध्ये २५ प्रतिशत बजेट सडकलाई छुट्याएको छ । चालु वर्षमा पनि सरकारले हरेक निर्वाचन क्षेत्रमा स्तरीय सडक बनाउने कार्यक्रम अन्तर्गत ३६ वटा निर्वाचन क्षेत्रको लागि ७५ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको थियो । आगामी वर्ष पनि बजेटले सोही कार्यक्रमलाई निरन्तरता दिएको छ । सडक पूर्वाधारमा कुल ८ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ छुट्याएको छ ।
चालु वर्षको नीति तथा कार्यक्रम र बजेटले पनि समेटेको पोखरा चक्रपथ र पोखरा-भिमाद-दुम्कीवास फास्ट ट्रयाकलाई बजेटले निरन्तरता दिएको छ । कालीगण्डकी सांस्कृतिक करिडोरलाई दुई खण्ड देवघाट-चापकोट र राम्दी-रुद्रवेणी खण्डमा निर्माण गर्नेगरी ११ करोड रुपैयाँ विनियोजन भएको छ ।
निर्माणाधीन सडकलाई क्रमागत रुपमा पूरा गर्ने तथा डिजाइन एण्ड विल्ड अवधारणाअनुसार निर्माण गर्ने गरी आठ अर्ब १८ करोड रुपैयाँ विनियोजन भएको छ । सरकारले आगामी आर्थिक वर्षमा झोलुङ्गे पुलको निर्माणकार्य सम्पन्न गर्न १२ करोड ५७ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
खानेपानीमा २ अर्ब २० करोड, सिँचाईमा २ अर्ब ४८ करोड रुपैयाँ, उज्यालो प्रदेश बनाउन सौर्य ऊर्जामा ६ करोड, विद्युत विस्तार कार्यक्रमलाई ५१ करोड र लघु जलविद्युत मर्मत गर्न ३ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । १० वटा गाउँपालिकामा सामुदायिक सभाकक्ष बनाउन १९ करोड, स्याटेलाईट सिटी बनाउन ३ करोड, एकिकृत बस्ती विकास कार्यक्रमलाई १६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सरकारको प्राथमिकतामा परेको पर्यटन क्षेत्रको विकास गर्न होमस्टेलाई २५ करोड रुपैयाँ परिमार्जन सहित बजेट विनियोजन गरिएको छ । पर्यटकीय सूचना केन्द्र स्थापनामा सरकारले ५ करोड रुपैयाँ छुट्याएको छ । हरेक जिल्लामा ४ वटा पर्यटकीय गन्तव्य छान्ने र तिनीहरुको पूर्वाधार विकासका लागि १७ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
कृषितर्फ मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रमलाई परिमार्जन सहित १६ करोड १९ लाख रुपैयाँ र कृषकले बैंकबाट लिएको ऋण भुक्तानी गर्न अनुदानको लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री गुरुङले जनाए । प्रदेशका छ वटा जिल्लामा कोल्डस्टोर निर्माण गर्न ९ करोड, स्याउका बिरुवा वितरण गर्न ४ करोड ५० लाख रुपैयाँ छ्ट्याइएको छ ।
औद्योगिक क्षेत्रतर्फ ८ करोड ६० लाख, वन तथा वातावरण क्षेत्रमा ५ करोड, सूचना सञ्चारमा १ करोड, शिक्षामा ३८ करोड ५० लाख, स्वास्थ्यमा १९ करोड ६० लाख रुपैयाँ, युवा तथा खेलकुदमा १४ करोड, भाषा संस्कृतिमा ३ करोड रुपैयाँ विनियोजन गरेको गुरुङले जनाए ।
यहाँ क्लिक गर्नुहोस बजेटको पुर्ण पाठ