
पर्वत- नेपालको एक मात्र बन्यजन्तु शिकार आरक्ष बागलुङको ढोरपाटनबाट पोखराका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण बलेवामा आकस्मिक अवतरण गरेको छ । मंगलबार साँझ ६ बजे ढोरपाटनबाट उडेको हेलिकप्टर मौसम अनुकुल नभएपछि बागलुङको बलेवामा अवतरण गरेको हो ।
प्रभुको नाइन एन ए जे एन नम्बरको उक्त हेलिकप्टरमा एक जना विदेशी नागरिक सहित दुई जना शिकार आरक्षकै कर्मचारी रहेका छन् । शिकार आरक्ष अबलोकनका लागि आएको र मौसम अनुकुल नभएका कारण बलेवामा अवतरण गरिएको आरक्षका कर्मचारी आशिष थापाले जानकारी दिनुभयो । बलेवामा सुरक्षित अवतरण पश्चात् भोलि बुधबार विहान गन्तब्यमा जाने थापाले बताउनुभयो ।
लगातार बर्षा र हावाहुरीका कारण पोखरा लगायतका क्षेत्रमा मेघ गर्जन सहित भिषण बर्षा भइरहेको छ । बर्षाका कारण सडक यात्रा कष्टदायक त छ नै हवाई यात्रा समेत प्रभावित बनेको छ ।