माधब पराजुली,पर्वत
पर्वतको विहादी गाँउपालिकामा प्याराग्लाईडिङको परिक्षण उडान सफल भएको छ ।
बिहादी गाँउपालिका वडा नं. ४ को लुरिङको डाँडामा प्याराग्लाईडिङ उडान सफल भएको हो ।
उरामको गेप्ताङ सामुदायिक होमस्टेले आयोजना गरेको गाँउ पर्यटन प्रवद्र्धन कार्यक्रमको अवसरमा प्याराग्लाईडिङ उडान गरिएको हो ।
पोखराको सराङकोटमा प्याराग्लाईडिङ चलाउदै आएका विवेक राना र गोले लामाको नेतृत्वमा विपिन परियार,रमेश नेपाली, विक्रम नेपाली र शत्या राईले विहादी गाँउपालिकाको आकाशमा प्याराग्लाईडिङ उडाए ।
परीक्षण उडान पछी विपिन परीयारले लुरीङ र देउराली डाँडा प्याराग्लाईडिङ उडान गर्नका लागि र रानिपानीमा रहेको ईमिचौर अवतरण गर्नको लागि उत्तम स्थान रहेको बताए । यस ठाँउमा धेरै सम्भावना रहेको बताउदै भौगोलिक अवस्था,उचाई,हावाको गति लगाएतको सहजताका कारण आफुलाई उडान सहज बनेको चालकहरुको भनाई थियो ।
आवश्यक पूर्वाधार सडक,धावन मार्गको व्यवस्थित विकास गर्न सकेमा व्यवसायिक रुपमा यस स्थानमा प्याराग्लाइडिङ शुचारु गर्न सकिने चालक रमेश नेपालीले बताए ।
प्यारागलाइडिङका माध्यम बाट पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै विहादीलाई समृद्धिको पथमा हिडाउने लक्ष्यका साथ परीक्षण उडान गरिएको बिहादी गाँउपालिका अध्यक्ष कमल प्रसाद भुषालले बताए । उनले यस स्थानको थप भौगोलिक अध्ययन र पूर्वाधार विकास गरी आगामी आर्थीक बर्षमा बजेट बिनियोजन गरि प्याराग्लाइडिङ नियमित सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
सफल उडान अघि धावन मार्ग र अवतरण स्थलको बारेमा सम्भाव्यता अध्ययन गरिएको थियो । बिहादीको आकाशमा एकै साथ ४ वटा प्याराग्लाइडिङ उडेपछी स्थानियवासीमा खुसीयाली छाएको थियो । चालकले आधा घण्टा भन्दा बढी समय सम्म उडान गरेपछी आँपालयमा अवतरण गराएका थिए ।
पत्रकार माधब पराजुलीले पर्यटकिय सम्भावना बोकेको बिहादी गाँउपालिकाको बास्तविक सम्भावना र बस्तुस्थितीको अध्ययन अनुसन्धान गरी यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले निजि क्षेत्र तथा स्थानिय जनताको लगानीमा प्यारागलाईडिङ जस्ता सहासिक खेल भित्र्याउन सके समग्र विहादी गाँउपालिकावासीलाई फाईदा पुग्ने बताए ।
स्थानिय रिसि भुषालले आफ्नो घरै माथि बाट प्याराग्लाईडिङ उडेको देख्दा आफुलाई निकै खुसी लागेको बताउदै यसको सफल उडान सँगै गाँउपालिकाले नयाँ योजना बनाएर नियमित उडान भर्ने बातावरण मिलाउन ढिला गर्न नहुने बताए ।
सम्भाव्यता अध्ययन र परीक्षण उडानको व्यवस्थापन गेप्ताङ सामुदायिक होमस्टे उरामले मिलाएको थियो । करिब २ हजार मिटर अग्लो डाँडा बाट प्याराग्लाइडिङ परिक्षण उडान हेर्न हजारौँ मानिसहरुको उपस्थिती रहेको थियो ।
बिहादी गाँउपालिकामा बिश्वकै ठुलो शिला शालिग्राम,बच्छेश्वरकोट,गोर्लाङ,देउराली,छाप जस्ता प्रसिद्ध धार्मीक पर्यटकीय स्थलहरु रहेका छन् भने कालिगण्डकी नदीमा ¥याफ्टिङ समेत हुदै आएको छ ।