पर्वत– नेपाली काँग्रेसका नेता डा. रामशरण महतले सरकारले काम भन्दा गफ बढि गरेको आरोप लगाउनुभएको छ । पर्वतको फलेवासमा आज आयोजित मेला समापन कार्यक्रमलाई सम्बोधन गर्दै महतले दुई तिहाईको सरकार यसअघिका गठजोर सरकार भन्दा पनि कमजोर देखिएको बताउनुभयो ।
पूर्व अर्थमन्त्री समेत रहनुभएका महतले आर्थिक रुपमा देश समृद्ध बन्नेमा शंका व्यक्त गर्नुभयो । सरकारलाई सीमा विवाद समाधानका लागि प्रमुख प्रतिपक्षी दलको जुनसुकै साथ र सहयोग रहने पनि उहाँले बताउनुभयो । नेपालको आर्थिक समृद्धिमा कृषि, पर्यटन, जलस्रोत, उर्जा, जडिबुटी नै प्रमुख भूमिकामा रहेको महतले बताउनुभयो । सरकारले जल, जमिन र वातावरणको समूचित प्रयोग गरि आर्थिक समृद्धि हासिल गर्ने कार्यक्रम तय गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसको पालामा कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्गको परिकल्पना गरेर काम अगाडी बढेको बताउँदै महतले अहिले कम्यूनिष्ट सरकारले काँग्रेसले गरेका विकास देखाएर सत्तामा पुगेको आरोप लगाउनुभयो ।
कार्यक्रममा पूर्व कानुनमन्त्री यज्ञवहादुर थापाले सरकारका काम बाट नागरिक सन्तुष्ट हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा पूर्व साँसद ऋषिकेश तिवारी, नेपाली काँग्रेसका पूर्व सभापति नवराज गुरुङ, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा , जिविसमा पूर्व उपसभापती रामशर्मा पौडेल लगायतले बोल्नुभएको थियो ।
मेला समापन संगै भलिवल, रत्यौली, भजन, फलेवास डान्स आईडल, तेक्वान्दो प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण गरिएको छ । यूनाइटेड स्पोर्टस् क्लवको आयोजनामा मंसिर १९ देखि शुरु भएको कार्यक्रम आज समापन गरिएको हो । हरेक दिन राष्ट्रिय कलाकारहरुको सहभागितामा कार्यक्रम गरिएको थियो । सबै दिन दर्शकहरुले मेला भरिभराउ भएको थियो ।
क्लवले मेला पहिलो पटक आयोजना गरेको र ऐतिहाँसिक रुपमा सफल भएको क्लवका अध्यक्ष अच्यूतकृष्ण श्रेष्ठले बताउनुभयो ।