पर्वत– सामाजिक सेवामा क्रियाशिल इनरह्वील क्लव अफ पर्वतले पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहारको थामर्जुङमा रहेको ज्ञानेन्द्र प्राविमा प्रिन्टर, विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।
छिमेकी जिल्लाका कास्कीको सिमानामा पर्ने उक्त विद्यालयमा कसैको पनि नजर पर्न नसकेका बेला ईनरह्वील क्लव अफ पर्वतले पहिलोपटक सहयोग गरेको हो । विद्यालयमा शनिवार आयोजित एक कार्यक्रममा विद्यालयमा अध्ययनरत सवै विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो लुगा र शैक्षिक सामाग्री वितरण गरेको हो ।
विद्यालयको इतिहासमै पहिलोपटक यसरी सहयोग पाएपछि विद्यार्थी, शिक्षक तथा अभिभावकहरु हर्षित बनेका थिए । इनरह्वील क्लव अफपर्वतका अध्यक्ष जलन खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा पूर्व अध्यक्ष सावित्रि खत्री क्षेत्रीले कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो ।
सो अवसरमा स्थानीय समाजसेवी तथा शिक्षक अभिावक संघका अध्यक्ष मणिराज भुँवाजीले जन्मगाउँ छाडेर गएपनि गाउँमा रहेका सामाजिक संस्थाहरुलाई सहयोग पु¥याउन आग्रह गर्नुभयो । उहाँले क्लवले गरेको सहयोगप्रति धन्यवाद समेत व्यक्त गर्नुभयो ।
सो अवसरमा लायन्स क्लव अफ शिवालय पर्वतका आगामी अध्यक्ष इन्द्रमान खत्री, इनरह्वील क्लव अफ पर्वतका पुर्व अध्यक्ष लक्ष्मी मेघासी, विद्यालयका प्रद्यानाध्यापक दलबहादुर खत्री क्षेत्री, पत्रकार माया अधिकारी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा धन्यवाद मन्तव्य क्लवका आगामी अध्यक्ष अनिता सापकोटा चापागाईले व्यक्त गर्नुभएको थियो भने संचालन सचिब गंगा शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकार माया अधिकारीले जन्मदिनको अवसरमा दुई जना छात्रछात्रालाई शैक्षिक सामाग्री खरिद गर्नका लागि नगद सहयोग गर्नुभएको थियो ।
२०१८ सालमा स्थापना भएको उक्त विद्यालय शैक्षिक गुणस्तरको हिसावले अब्बल रहेको छ । विद्यालयमा तीन जना दरवन्दी र दुई निजि श्रोतवाट गरी पाँच जना शिक्षक शिक्षिका रहेका छन् ।