
पर्वत ः पर्वतको कुश्मा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरिएको छ ।
बेरोजगार युवाहरुलाई कम्तीमा एक महिना रोजगार उपलव्ध गराउने सरकारको घोषणा अनुसार कुश्मा नगरपालिकाले चालु आर्थिक वर्षका लागि झण्डै डेढ सय जना युवालाई रोजगार प्रदान गरेको छ । कुश्मा नगरपालिकाका १४ वटै वडामा प्रत्येकमा कम्तीमा ७ देखि १४ जनाको दरले १ सय ५० जनालाई रोजगारी प्रदान गरिएको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि पंगिनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि आएको रु. २५ लाख रुपैया मध्ये ७० प्रतिशत रकम उनिहरुको तलब भत्तामा खर्चिने भएको छ भने ३० प्रतिशत रकम कामदारहरुका लागि आवश्यक सामाग्रीहरु खरिदमा खर्च गरिने भएको छ । ३० प्रतिशत रकम मजदुरका लागि पोशाक खरिद, गल, घन, गैची, बेल्चा, लगायतका सामानहरु खरिद गरेर हस्तान्तरण गरिएको पंगिनीले जानकारी दिनुभयो ।
नियुक्त गरिएका कर्मचारीहरुलाई दैनिक रु.६ सय १७ रुपैया पारिश्रमिक उपलव्ध गराईने भएको छ । सरकारी मापदण्डमा रु.५ सय ७ रुपैया तोकिएको भएपनि जिल्ला दररेट अनुसार रु.६ सय १७ रुपैया रहेकोले सोहि अनुसार भुक्तानी गरिने भएको छ । उनिहरुलाई सडक, पदमार्ग, नहर, कुलाहरु सफा गर्ने, मर्मत गर्ने लगायत बार्षिक बजेटमा तोकिएका कार्यक्रमहरुमै परिचालन गरिने समेत प्रमुख प्रशासकिय अधिकृत पंगिनीले जानकारी दिनुभयो ।
यसैबीच उक्त कार्यक्रमको शुक्रवार शुभारम्भ गर्दै पहिलो चरणमा वडा नं. १ देखि ९ सम्ममा छनौट भएका कामदारहरुलाई प्रशिक्षण सहित आवश्यक सामाग्रि र पोशाक वितरण गरिएको छ । शुभारम्भ गर्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले अब कोहिपनि नागरिक बेरोजगार बस्नु नपर्ने भन्दै तोकिएका ठाउँमा इमान्दार भएर काम गर्न आग्रह गर्नुभयो । चालु आर्थिक वर्षका लागि एक कम्तीमा एक महिनाका लागि रोजगारको व्यवस्था भएपनि आगामी आर्थिक वर्षदेखि नियमित काम पाउने व्यवस्था हुन सक्ने भन्दै स्थानीय तहले पनि आवश्यक ठाउँमा परिचालन गर्ने आवश्वासन दिनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, प्रमुख प्रशासकिय अधिकृत हरि पंगिनी, वडा नं. ७ का अध्यक्ष सुवासचन्द्र पौडेलले कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुभएको थियो ।
पर्वतको फलेवास नगरपालिकाले यस अघिनै कर्मचारी नियुक्त गरिसकेको छ भने अन्य स्थानीय तहमा पनि छनौटको चरणमा रहेका छन् ।