पर्वत ः केहि वर्ष अघिसम्म खेतवारीमा वर्षमा तीन खेती गर्दै आएका यहाँको एक गाउँका बासिन्दाले अहिले खेती गर्न छाडेर खेतवारी बाँझै राख्न बाध्य भएका छन् ।
पर्वतका कुश्मा नगरपालिकाका वडा नं. १२ ठुलीपोखरीका बासिन्दाहरुले बाँदर आतंकका कारण लगाएको बालीनाली भित्र्याउन नपाएपछि खेतवारी बाँझै राखेका हुन् । विहान उज्यालो भएदेखि साँझ नपरुन्जेल बस्ती वरिपरी हुलका हुल बाँदर आएर बाली नाली, फलफुल, तरकारी खान थालेपछि खेतीनै लगाउन छाडिएको स्थानीय शिक्षिका झलकुमारी सापकोटाले बताउनुभयो । विशेषगरी ठुलीपोखरीमा बुमी, लाम्पाटा, ढाडस्वारा, टिमीलापाट, अर्गसे र टार जस्ता ठाउँमा विहानैदेखि साँझ नपर्ने बेला सम्म घरभित्र रहेको अन्नपात, करेशावारीमा रहेका फलफुल तथा तरकारी जोगाउन चारै दिशामा चार जना हेरालो बस्नपर्ने बाध्यता रहेको छ । बस्ती नजिकै ढाँकिदै गएको बनजंगलका कारण लगाएको खेतीवाली बाँदरले पुर्ण रुपमा नष्ट गर्न थालेको उहाँले बताउनुभयो ।
वर्षायाममा खेतमा धान, त्यसपछि गहुँ, जौ वा तोरी र त्यसपछि मकै गरी तीनवाट अन्नका जात भित्र्याउने गरिन्थ्यो, स्थानीय हेमराज सापकोटले पुराना कुरा स्मरण गर्दै भन्नुभयो बारीमा पनि मकै, कोदो र तोरी या गहुँ लगाईन्थ्यो, केहि मात्रामा आलु समेत लगाउने चलन थियो, तर अहिले जति बाली लगाएपनि एउटा गेडो भित्र्याउन पाईदैन त्यै भएर खेती गर्न छाडियो सापकोटाले भने । उनले खेतवारीमा मात्र नभई घर भित्रै पसेर पनि अनाजहरु बाँदरले खाईदिँदा स्थानीयवासी निकै समस्यामा परेका छन् ।