यात्रा गर्दा ख्याल गरौ, बेनी–मालढुङ्गा सडक पनि दैनिक सात घण्टा बन्द - News site from Nepal

पर्वत – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि दैनिक सात घण्टा बन्द हुन थालेको छ ।
जलजला गाउँपालिका–३ वारिबेनीदेखि लामाखेत खण्डको सडक फराकिलो बनाउने कामका लागि जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले बुधबारदेखि लागू हुने गरी समयतालीका बनाएको हो ।
जसअन्तर्गत बिहान ६ देखि ८, दिउँसो १० देखि १ र २ देखि ४ बजेसम्म सवारीसाधन रोकेर सडक विस्तार गर्ने मालढुङ्गा–बेनी सडक आयोजना निर्माण कम्पनीका प्रतिनिधि अमृतकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
म्याग्दी र मुस्ताङबाट पर्वत, बागलुङ, पोखरा, काठमाडाँैलगायत देशका विभिन्न स्थानका लागि छुट्ने र भित्रिने सवारीसाधन प्रभावित भएका छन् । बेनी–मालढुङ्गा सडक बन्द भएको समयमा बेनी–रत्नेचौर–बागलुङ–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ ।
सडक डिभिजन कार्यालय बागलुङले लामाखेतदेखि वारिबेनीसम्मको एक किलोमिटर १०० मिटर दूरीको सडक स्तरोन्नति र कालोपत्र गर्न आयोजना सञ्चालन गरेको छ । सडक विस्तार, नाली निर्माण र कालोपत्रका लागि डिभिजनले गत पुस १७ गते रु एक करोड १५ लाखमा अजय–त्रिशक्ति जेभीसँग आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने सम्झौता गरेको छ ।
निर्धारित समयभित्रै योजना निर्माण सम्पन्न गर्न सडक निर्माण र सवारी सञ्चालनको समयतालीका बनाइएको हो । ११ मिटर फराकिलो हुने सडकको साढे पाँच मिटर चौडाइमा कालोपत्र र एक मिटर चौडाइको नाली हुनेछ । यो सडक हाल सात मिटरको हाराहारीमा फराकिलो छ । मालढुङ्गा–बेनी म्याग्दी र मुस्ताङ प्रवेशद्वारको रुपमा पनि यो सडकलाई लिइने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!