पर्वत– पर्वतको कुस्मा नगरपालिका वडा नं. ११ सिल्मीमा रहेको स्यानी पोखरी आधारभूत विद्यालयमा २ वटा भवन निर्माणकार्य शुरु भएको छ ।
विनासकारी भुकम्पले भवन क्षतविक्षत भएपछि निकै समस्यामा रहेको उक्त विद्यालयमा भुकम्प पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षा पर्वत र गोरखा वेलफेयर सोसाईटीको सहयोगमा एकैपटक दुईवटा भवन निर्माण गर्न थालिएको हो । एउटा १८ लाख र अर्को भवन २४ लाखको लागतमा निर्माण गर्न थालिएको विद्यालयले जनाएको छ ।
निर्माण हुन लागेका दुईवटै भवनको सोमवार शिलन्यास गरिएको छ । प्रतिनिधी सभाका सदस्य पदम गरीले दुईवटै भवनको शिलान्यास गर्नुभएको हो । कार्यक्रममा बोल्दै गिरीले राज्यले सर्वसुलभ शिक्षाका लागि लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले शिक्षामा प्रर्याप्त लगानी हुन नसक्दा सार्वजनिक शिक्षा प्रणाली समेत समस्यामा परेको बताउँदै शैक्षिक गुणस्तर बृद्धिका लागि पूर्वाधार सँगै शिक्षकहरुको क्षमता समेत बढाउनुपर्ने बताउनुभयो । गिरीले सामुदायिक विद्यालयहरुमा पढ्ने विद्यार्थीहरु आधारभूत वर्गका भएकाले उनीहरुको शिक्षा पाउने अधिकार रक्षा गर्न पनि सरकारले शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको सरकारले सवै नागरिकलाई शिक्षाको पुहुँच पु¥याउनका लागि काम गरिरहेको बताउँदै अब कुनैपनि नागरिक आधारभूत शिक्षाबाट बञ्चित हुन नपर्ने बताउनुभयो । उहाँले अब मुलुकको द्रुतगतिमा विकास हुँने बताउँदै अब सवै काम पन्छाएर विकास निर्माण र समृद्धितर्फ केन्द्रित हुने बेला आएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै कुस्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासकुमार लामिछानेले सामुदायिक विद्यालयहरुको गुणस्तर बढाउनका लागि भौतिक पूर्वाधार पनि महत्वपूर्ण भएकाले भौतिक पूर्वाधारका साथै योग्य जनशक्ति आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै कुस्मा नगरपालिका ११ का अध्यक्ष शिब प्रसाद पौडेलले शिक्षा क्षेत्रमा कुस्मा नगरपालिकाले पनि महत्वपूर्ण योजनाहरु ल्याएको बताउनुभयो । कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षाका प्रमुख खिम बहादुर भुजेलले सवै विद्यालयहरु भुकम्प प्रतिरोधी बनाउनका लागि आफुले निरन्तर प्रयास गरेको बताउनुभयो । नेकपाका प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले अबको समय विकास निर्माण र समृद्धिको भएकाले सवै पूर्वाधारहरुलाई तीब्र गतिमा निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले कुनैपनि विद्यालयका विद्यार्थीहरु खुल्ला आकासमुनि बसेर पढ्न नपर्ने बताउँदै त्यसका लागि स्थानीय जनप्रतिनिधि र अभिभावकहरुको पनि सक्रियता हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा संयन्त्रका सदस्य खुम प्रसाद सुबेदी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष चिरञ्जिवि अधिकारी , स्थानीयवासी भिम नेपाली, विद्यालयका प्रद्यानाध्यापक राम बहादुर केसी, शिक्षिका शर्मिला नेपाली लगायतले मन्तव्य राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा बहादुर नेपालीको अध्यक्षतामा संचालित कार्यक्रमको स्वागत शिक्षिका सौभाग्य नेपाली क्षेत्री र संचालन शिक्षक खिमलाल सुबेदीले गर्नुभएको थियो । सोही अवसरमा कलाकार सुमन केसीले विभिन्न सांगितिक प्रस्तुती समेत गरेका थिए ।