दमौलीको दुम्सीचौरमा कृत्रिम ताल निर्माण शुरु,ताल प्राधिकरण बनाउने तयारीःमन्त्री लम्साल - News site from Nepal

माधब पराजुली, पोखरा
तनहुँको ब्यास नगरपालिका–१० स्थित दुम्सीचौरमा कृत्रिम ताल निर्माण गर्न थालिएको छ । करिब ८० लाखको लागतमा उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित ताल निर्माण गर्न लागिएको हो । यो ताललाई नारेश्वर ताल’ नामाकरण गरिएको छ । ३ सय मिटर भन्दा बढी लम्बाई रहने तालको लागि ८ मिटर बाध बाँधी ताल बनाउने योजना नगरपालिकाले अगाडि सारेको हो । ताल ८८ हेक्टर भन्दा बढी क्षत्रफलमा फैलिने देखिन्छ । उपभोक्ता समितिमार्फत् काम गर्दा करीब रु ५५ लाखमा ताल निर्माण हुने सम्भावना देखिएकाले स्थानीय विष्णु थापाको अध्यक्षतामा ताल निर्माण उपभोक्ता समिति गठन गरिएको र सोही समिति मार्फत् ताल निर्माण गरिने व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेले बताउनुभयो ।
ताल निर्माणका लागि उक्त नगरपालिकाले रु २० लाख उपलब्ध गराएको छ भने स्थानीयवासीको जग्गालाई शेयरमा रुपान्तरण गरिने भएको छ ।
इञ्जिनीयर हरिदत्त पौडेलका अनुसार तालको गहिराइ २.५ देखि ३ मिटर गहिरो हुनेछ । कङ्क्रिट ग्राभिटी ड्यामको संरचनामा ताल निर्माण हुनेछ ।
तालमा ३० हजार घनमिटरसम्म पानी सङ्कलन गर्न सकिने सो ताल चैत महीनामै निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उक्त ताल शिलान्यास गर्दै ताल प्राधिकरण बनाउने तयारी भइरहेको बताउनुभयो । उहाँले प्रदेशभित्रका तालतलैया संरक्षण गर्ने उद्देश्यसहित ताल विधेयक ल्याइने तयारी भएको जानकारी दिनुभयो । गण्डकी प्रदेशमा नदी र ताल प्रशस्त रहेकाले त्यसको संरक्षण गर्ने जिम्मेवारी सरकारको रहेकोले ताल प्राधिकरण बनाएर त्यसको संरक्षण गरिने जानकारी दिँदै उहाँले भन्नुभयो, पोखराका नौवटा ताललाई संरक्षण त गर्छौ नै साथै समग्र गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहका तालतलैया र कुवालाई पनि व्यवस्थित गर्न कार्ययोजनासहित अगाडि बढेका छौं ।
दुम्सीचौरमा निर्माण हुनलागेको कृत्रिम तालका लागि मन्त्रालयबाट समेत पर्याप्त बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री लम्सालले अबको एउटै लक्ष्य जनतालाई विकास र समृद्धि दिने भएकाले सबै राजनीतिक दल विकासप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
पानी सँगै बगेको पूँजीलाई छोप्न नसक्दा नेपाल विकासमा निकै पछाडी परेको बताउदै पानी बाटै समृद्धि प्राप्त गर्न सकिने बताउनुभयो । आफ्ना नाकैमुनी सम्भावना बोकेका क्षेत्रहरु देख्न नसक्दा विकासमा समस्या हुने गरेको उहाँको भनाई थियो । उहाँले स्थानिय स्तरमा निर्माण हुने यस्ताखाले सबै विकास निर्माणका कार्यमा स्थानिय र प्रदेश सरकारको समन्वयात्मक भुमीका हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री लम्सालले फागुन पछी प्रदेश सरकारका विकास निर्माणका योजनाले तिब्र गति लिने उहाँको दाबी थियो ।
सोही अवसरमा प्रदेशसभा सदस्य सरिता गुरुङ, संविधानसभा सदस्य धु्रव वाग्ले, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोख्रेलले आर्थिक समृद्धिको ढोका खुलाउन ताल परियोजनाले सहयोग पु¥याउने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!