
पर्वत/ नयाँ बर्ष २०७६ को अवसर पारेर पर्वतको कुस्मामा प्रथम सडक खाना महोत्सब शुरु भएको छ ।
अग्ला पुलहरुको शहर कुस्माबजारलाई नयाँ बर्षमा आन्तरिक पर्यटकको नयाँ
गन्तब्य बनाउने उद्देश्य सहित पर्वत जेसिजको आयोजनामा तीन दिने महोत्सब
शुरु भएको हो । आन्तरिक पर्यटन प्रर्बद्धन गर्न आयोजित महोत्सबको शनिबार
कुस्माबजारमा गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री बिकास
लम्सालले उद्घाटन गर्नुभयो ।
महोत्सब उद्घाटन गर्दै मन्त्री लम्सालले कुस्मालाई पोखरापछि पर्यटनको
इपिसेन्टर मानेर यस क्षेत्रमा पुर्बाधार निर्माणमा सरकार जुटेको बताउनुभयो ।
पोखरामा अन्तराष्ट्रिय बिमानस्थल सञ्चालनमा आएपछि अल्ट्रालाईट,
प्याराग्लाइडिङ्गहरुलाई बलेवा बिमानस्थलबाट सञ्चालन गर्ने योजना प्रदेश
सरकारले बनाएको मन्त्री लम्सालले जानकारी दिनुभयो ।

‘पोखरापछिको पर्यटकीय गन्तब्य बनाउने प्रयासमा छौ’ उहाँले भन्नुभयो
‘कुस्मालाई इपिसेन्टर मानेर पर्वत र बागलुङ्ग तथा म्याग्दी सम्मका पर्यटकीय
गन्तब्यहरुमा पुर्वाधार निर्माणका काम हुनेछन’ पर्वतका अग्ला पुल, गुफा,
बिश्वकै अग्लो बञ्जी जम्पस्थलमा पार्क, पदमार्ग, प्याराग्लाईडिङ्ग,
जलयात्रा लगायतका पर्यटन क्षेत्रको बिकास गर्न प्रदेस सरकारले काम गर्ने
उहाँको भनाई छ । यस बर्ष मात्रै पर्वतका ४२ वटा होमस्टे प्रर्बद्धन गर्न
प्रदेश सरकारले बजेट बिनियोजन गरेको उहाँले जानकारी दिनुभयो भने गुप्तेश्वर
गुफामा ध्यान केन्द्र बनाउन पनि सहयोग गरेको छ भन्नुभयो ।
गण्डकी प्रदेशमा यस बर्ष १५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य सहित
आन्तरिक भ्रमण बर्ष मनाइरुहेको उहाँको भनाई छ ।‘गण्डकी प्रदेशमा १५ लाख
पर्यटक ल्याउने उद्देश्य सहित यस बर्ष आन्तरिक भ्रमण बर्ष मनाईरहेका छौ’
उहाँले भन्नुभयो ‘आगामी बर्ष केन्द्र सरकारले मनाउने नेपाल भ्रमण बर्षका
लागि प्रदेशको आन्तरिक भ्रमण बर्षले ठुलो सहयोग पु¥याउने छ ।’
२०२१ देखि पोखरा अन्तराष्ट्रिय बिमानस्थलमा नियमित रुपमा उडान शुरु भएपछि
गण्डकी प्रदेशमा आउने पर्यटकका लागि आवश्यक सडक, होटल, नयाँ पर्यटकीय
गन्तब्यको बिकासका प्रदेश सरकार दिनमा १८ घण्टा काम गरिरहेका छ’ उहाँले
भन्नुभयो ‘पोखरामा आउने पर्यटकलाई प्रदेशका ग्रामिण क्षेत्र सम्म पु¥याउन
सक्दा पर्यटनबाटै प्रदेशले समृद्धि हासिल गर्छ’ वनमा समेत ब्याबसायिक रुपमा
रुपमा पर्यटन प्रर्बद्धन र हण्टिङ्ग टुरिज्म बिकास गर्न आवश्यक पर्ने
ऐनहरु संशोधनका लागि गृहकार्य भैरहेको उहाँको भनाई छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेल,
कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, जलजला गाउँपालिकाका अध्यक्ष
यामबहादुर मल्ल, कुस्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछाने,
नेकपाका नेता भक्त कुवँर, नेपाली कांग्रेसका सभापति खिमप्रसाद भुसाल,
महोत्सब निर्देशक समितिका संयोजक शिबप्रसाद सुबेदी, पर्वत उद्योग बाणिज्य
महासंघका अध्यक्ष केदारनाथ शर्मा, कुस्मा नगरपालिकाका सामाजिक बिकास
समितिका प्रमुख तथा वडा नं ११ का अध्यक्ष शिबप्रसाद पौडेल, वडा नं ५ की
अध्यक्ष चित्रकला भारती शर्मा, बिराट गुप्तेश्वर धार्मिक मेला तथा कोटिहोम
महायज्ञ मुल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्मा , पत्रकार महासंघ
पर्वतका अध्यक्ष छबिलाल तिवारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको
थियो । पर्वत जेसिजका अध्यक्ष अध्यक्ष मोहन आचार्यको अध्यक्षतामा भएको
उद्घाटन कार्यक्रममा स्वागत महोत्सब आयोजक समितिका संयोजक केदार आचार्य र
सञ्चालन महासचिब रामु शर्मा तथा उपाध्यक्ष रिता केसी भण्डारीले गर्नुभएको
थियो ।
नयाँ बर्ष मनाउन पदयात्रामा जाने, पोखरा र फेवा किनारमा मनाउन जाने साविकका
पर्वत,बागलुङ्ग तथा म्याग्दी र कास्की र स्याङ्गजाका आन्तरिक पर्यटकलाई
लक्षित गरेर महोत्सब आयोजना भएकोले महोत्सब सफल हुने आयोजक पर्वत जेसिजका
अध्यक्ष मोहन आचार्यले बताउनुभयो । पहिलो पटक आयोजना गरिएको महोत्सबमा
कम्तीमा पनि ३० हजार आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य आयोजकले राखेका छन ।
महोत्सबमा निशुल्क स्टल र निशुल्क प्रबेशको ब्यबस्था छ भने महोत्सब अबधिभर
पर्वतका पर्यटकीय स्थलहरुको अवलोकन गर्ने ब्यबस्था मिलाइएको छ । मम खाने
प्रतियोगिता तथा जलेवी दौड प्रतियोगिता समेत आयोजना गरिएको छ । महोत्सबको
पहिलो दिन कलाकारहरु बिमलराज क्षेत्री, सरस्वती लामिछाने, कृष्ण समिप
सुबेदी, अर्जुन थापा लगायतको सांगितीक प्रस्तुती रहेको छ ।