अब केबलकारमै सरर… मुक्तिनाथ विश्वकै सबैभन्दा लामो बीरेठाँटी – मुक्तिनाथ केबलकार निर्माण हुँदै - News site from Nepal

पर्वत – कास्कीको बीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म विश्वकै सबैभन्दा लामो यात्रुवाहक केबलकार निर्माण गरिने भएको छ ।
मुक्तिनाथ केबलकार प्रा.लिले निर्माण गर्न लागेको यो केबलकार ८४.१ किलोमिटर लामो हुनेछ । त्यसमा छ वटा अन्तरिम स्टेशनहरु रहने र घोरेपानी, तातोपानी, लेते, कोबाङ, जोमसोम र कागबेनीमा चढ्ने र ओर्लने व्यवस्था गरिनेछ । साथै, बीचमा तिखेढुंगा, घासा र मार्फामा समेत चढ्ने र ओर्लने सुविधा हुनेछ । त्यसको लागि कम्पनीलाई लगानी बोर्ड नेपालले अनुमति समेत दिइसकेको छ । कम्पनीको तर्फबाट निर्देशक शिरोमणि ज्ञवालीले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन् ।

विज्ञप्तिका अनुसार, नेपालको इतिहासमै, नेपाली निजी क्षेत्रको मात्र जारी पूँजी लगानीमा निर्माण हुन लागको सो मुक्तिनाथ केबलकार परियोजनामा आइडिया फर नेपालले पनि लगानी गर्ने सहमति भएको छ । तदअनुरुप, आइडिया फर नेपाल र मुक्तिनाथ दर्शन प्रा.लिबीच शेयर खरिद बिक्रीको सम्झौतामा हस्ताक्षर पनि भएको छ । सम्झौताअनुसार, कुल जारीपूँजीमध्ये २० प्रतिशत सेयर आईडिया फर नेपाल प्रालिको रहनेछ ।

पैतालीस देशका दुई हजार भन्दा बढी गैरआवासीय नेपाली र चिनियाँ व्यावसायीहरु समेतको लगानी रहेको आईडिया फर नेपालले कृषि, भौतिक पूर्वाधार, पर्यटन तथा प्रविधिका विभिन्न परियोजनामा पनि लगानी गर्दै आएको छ । कम्पनीले जनाएअनुसार, परियोजनाको प्रारम्भिक प्रतिवेदन र सम्भाव्यता अध्ययन भइसकेको छ । सो निर्माण कार्यको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याकंन कार्य पनि द्रुत गतिमा अघि बढिरहेको विज्ञप्तिमा जनाइएको छ ।

हालसम्मको अध्ययन अनुसार उक्त परियोजनामा निर्माणकालीन ब्याज बाहेकको परियोजना लागत त्रिचालीस अर्ब नेपाली रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये पन्ध्र प्रतिशत जारी पुँजी (ईक्विटी) र बाँकी पचासी प्रतिशत कर्जा रहने विज्ञप्तिमा जनाइएको छ ।(रातोपाटीको सहयोगमा)

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!