नेपालमा कति प्रतिशतले प्रयोग गर्लान कण्डम ? यस्ता छन् फाईदा - News site from Nepal

काठमाडौँ — देशमा कुल जनसंख्याको आठ प्रतिशतले मात्रै कन्डमको प्रयोग गर्ने गरेका छन् । स्वास्थ्य सेवा विभागले २०१७ मा गरेको अध्ययनअनुसार कन्डमप्रतिको गलत धारणा हट्न नसकेका कारण यसको प्रयोग बढ्न नसकेको हो ।
जनस्वास्थ्यमा परिवार नियोजनको सुरक्षित साधनको रूपमा मानिएको र सरकारले नि:शुल्क रूपमा वितरण गर्दै आइरहेको कन्डमको प्रयोग वार्षिक जनसंख्या वृद्धिदरअनुसार बढ्न नसकेको विज्ञ बताउँछन् ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. तारानाथ पोख्रेल भन्छन्, ‘कन्डमले परिवार नियोजनमा त सघाउँछ नै, एचआईभी लगायत विभिन्न यौनरोग सर्न पनि दिँदैन । तैपनि यसको प्रयोगदर कम देखिएको छ ।’ शिक्षा र जनचेतनाको अभावका कारण कन्डमको प्रयोग बढ्न नसकेको उनी बताउँछन् ।
नेपाल स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्यांकअनुसार प्रजनन उमेरका १५ देखि ४९ वर्षका दम्पतीमा ४३ प्रतिशतले मात्रै परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्छन् । विवाहित किशोरीमध्ये १५ प्रतिशत किशोरीले मात्र परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्छन् । विशेषगरी मधेसी, मुस्लिम, चेपाङलगायत पिछडिएको समुदायमा यसको प्रयोग थोरै छ ।
परम्परागत रूपमा कन्डमलगायत परिवार नियोजनका अन्य साधनलाई बच्चा नजन्माउने उपायको रूपमा मात्रै लिइन्थ्यो । अहिले यसलाई किशोरकिशोरीको स्वास्थ्य सुधार, व्यवस्थित परिवार र नवजात तथा बालस्वास्थ्यसँग पनि जोडेर हेरिन्छ । विशेषज्ञका अनुसार एचआईभी संक्रमित भइसकेका व्यक्तिलाई पनि यौनरोग लगायत पुन: संक्रमण हुनबाट जोगाउन कन्डमले सघाउँछ ।
नेपालमा करिब ७७ प्रतिशत एचआईभी संक्रमणका कारण कन्डमबिनाको यौन सम्पर्कलाई मानिएको छ । एचआईभी संक्रमित, यौनकर्मी, लागूपदार्थ प्रयोगकर्ता र तेस्रोलिंगी व्यक्तिहरूमा कन्डमको प्रयोग बढाउन आवश्यक रहेको विज्ञ बताउँछन् । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका एक स्वास्थ्य शिक्षा अधिकृत भन्छन्, ‘यि समुदायमा एचआईभी र यौनरोगको संक्रमणदर बढी भएकाले यहाँ कन्डमको प्रयोग बढाउन जरुरी छ ।
यसका लागि कन्डमको सुरक्षित प्रयोगबारे जनचेतनाको व्यापक आवश्यकता छ ।’ कन्डमको सही प्रयोगबारे थाहा नहुनाले यो प्रभावकारी हुन नसकेको उनले बताए । यसको सहज र सुलभ उपलब्धता दर बढाएर प्रयोग बढाउनुपर्ने बताउँदैउनले थपे, ‘कन्डमप्रतिको नकारात्मक धारणा हटाउन पनि उत्तिकै आवश्यक छ । यसको महत्त्वबारे बुझाउने खालका कार्यक्रम हुनुपर्छ ।’
नेपालमा मातृशिशु मृत्युदर भने घटेको छ । दुई दशक पहिले नेपालमा मातृ मृत्युदर प्रति दस हजार ५३९ थियो । अहिले घटेर प्रतिदशहजार २३९ भैसकेको छ । साधनले महिलाको पाठेघरमा रोग लाग्न नदिने, हेपाटाइटिसलगायत अन्य संक्रमणबाट पनि बचाउँछ । साधन प्रयोग नगर्दा यसले धेरै पटक गर्भपतन गर्नेुपर्ने स्थिति निम्त्याउँछ ।
गर्भपतन गर्नेमा २० वर्ष नपुगेका किशोरीको संख्या हवात्तै बढ्नुको कारण पनि यही हो । निर्देशक पोख्रेल भन्छन्, ‘साधन सेवाप्रदायी संस्था किशोर–किशोरीमैत्री हुन आवश्यक छ, गोपनीयता कायम गर्न सके उनीहरूमा यसको प्रयोग बढेर जान्छ ।’
विश्व स्वास्थ्य संगठनका अनुसार अनिच्छित गर्भ रोक्न सकेमा मात्रै मातृ मृत्युदर ३० प्रतिशत घटेर जान्छ । किशोरी अवस्थामा गर्भको कारण हुने मातृ मृत्युदर २० वर्ष माथिका महिलामा दोब्बर भइरहेको संगठनको तथ्यांक छ । देशका १३ जिल्लामा परिवार नियोजनका साधन प्रयोग न्यून छ । पहुँच नपुग्नुले पनि किशोरीमा साधनको प्रयोग न्यून भएको हो ।
ekantipur.com

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!